होमराज वली/कोहलपुर (बाँके)

राप्तीसोनारी–२, कचनापुरका ज्ञानेन्द्रराज ओली (३०) वडा सदस्य हुन् । उनले यसलाई राजनीतिमा अगाडि बढ्ने खुट्किलोका रूपमा लिएका छन् । कचनापुरमा जन्मिए पनि उनको पढाइलेखाइ भने सबै नेपालगन्जमा भयो । नेपालगन्जस्थित ब्राइटल्याण्ड स्कुलमा उनले १२ कक्षासम्मको पढाइ पूरा गरे ।
युथ फोर्सदेखि जनप्रतिनिधिसम्म
नेपालगन्ज पढ्ने बेलानै उनी एमाले निकट युथ फोर्समा नेपालगन्ज नगरकमिटी सदस्यरूपमा औपचारिकरूपमा राजनीतिमा प्रवेश गरे । पछि युवा संघ नेपालगन्ज नगरकमिटी अध्यक्षसमेत भए ।
युवा संघको राजनीति गरिरहँदा उनलाई जनप्रतिनिधि भएर काम गर्ने सोच आयो । ‘युवा संघका दाइहरूले पनि गाउँमै गएर राजनीति गर्नुपर्छ भन्नुभयो,’ उनले भने, ‘स्थानीय तह निर्वाचनका बेला वडा सदस्यको टिकट पाएँ ।’
यहाँ राजनीतिक हिसाबले चुनाव जित्न गाह्रो देखिए पनि उनलाई त्यति गाह्रो भने भएन । पहिले पनि सामाजिक काम गरिरहने, बाढीपहिरो, विपत्तिका बेलामा सधैँ उनी अग्रसर हुने गर्थे, जसकारण पनि उनलाई समाजले पत्याएको थियो । त्यसमाथि उनी युवा राजनीतिबाट आएकाले युवा परिचालन कसरी गर्ने भन्ने उनलाई राम्रो ज्ञान थियो । उनी युवाका ढुकढुकी बन्न सफल भएकाले पनि उनलाई चुनाव जित्न खासै गाह्रो भने भएन ।
तलबभत्ता सामाजिक काममा
ज्ञानेन्द्रराज यस्ता व्यक्ति हुन्, जो सामाजिक काममा सधैँ अग्रसर हुन्छन् । कसैलाई दुःख पर्दा सधैँ उनी सघाउन अगाडि आइपुग्छन् । बाढी आउँदा उनले यहाँका स्थानीयलाई विभिन्न किसिमका सहयोग गरे । आफूले गर्न सक्ने आफूले नत्र अन्यत्रबाट सहयोग मागेर भए पनि सहयोग गर्न सधैँ तत्पर रहन्छन् । यतिसम्मकी उनले आफ्नो तलबभत्ता पनि सामाजिक काममा लगाएका छन् । उनले आफ्नो तलबभत्ता र अन्य रकम आफूले लगाएर २ लाख ६० हजार लागतको बेलवासमा प्रतीक्षालय निर्माण गरे । त्यस्तै मदुवास्थित शिवमन्दिरमा एक लाख बराबरको मूर्ति स्थापना गरे । स्थानीय लक्ष्मी माविको मैदान मर्मत गरिदिए, जसका लागि सो विद्यालयले उनलाई कदर पत्रले सम्मानसमेत गरेका थियो । उनले कजवे पुल निर्माण गर्ने, ग्राभेल गर्ने, ट्रयाक खोल्नेलगायतका सामाजिक काम पनि गर्दै आएका छन् ।
साथै उनले युवाहरूका लागि निःशुल्क फिटनेश सेन्टर स्थापना गर्दैछन् । जसको सुरुवात भइसकेको छ । उनी धन सप्लायर्सका सञ्चालकसमेत हुन् भने निर्माण व्यवसायमा पनि संलग्न छन् ।
सपना लाहुरे, भए जनप्रतिनिधि
ज्ञानेन्द्रराजका एक दाइ छन् भने एक बहिनी छिन् । बहिनीको भर्खरै बिहे भइसकेको छ । दाइ भने युरोप छन् । तीन छोराछोरीलाई पढाउन आफ्ना बुबाआमाले गरेको संघर्षलाई उनले बिर्सेका छैनन् । ‘बुबाले ट्रक चलाउनुहुन्थ्यो,’ उनले भने, ‘धेरै दुःख गरेर हामीलाई हुर्काउनुभयो ।’ त्यही सोचेर उनले ब्रिटिस वा इण्डियन लाहुरे बन्ने सपना बोके । तर, उनी जहिल्यै अन्तिम अवस्थामा आएर फालिनुपथ्र्यो । उनी अहिले भने आर्मीमा फालिएर पनि कुनै पश्चाताप नभएको बताउँछन् । गाउँमै बसेर सामाजिक काम गर्न पाउँदा निकै आनन्दित महसुस हुने उनको भनाइ छ । उनले आफूलाई राजनीतिमै स्थापित गर्ने सोच बनाएका छन् । ‘अहिले पाएको जिम्मेवारीलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र पछि राजनीतिमै स्थापित हुने सोच बनाएको छु,’ उनी भन्छन् ।