निर्माता तथा नायक रमित ढुंगाना संग अष्टिनका नेपालीले हेरे “बुद्ध बर्न इन नेपाल”

191

टेक्सास (अष्टिन)- टेक्सासको राजधानी अष्टिनमा शनिवार बुद्ध बर्न इन नेपाल फिल्म प्रदर्शन गरिएको छ । फिल्मका निर्माता तथा नायक रमित ढुंगानाको उपस्थितीमा अष्टिनका नेपालीहरुले बुद्ध बर्न इन नेपाल हेरेका हुन् ।

गौतम बुद्धको जन्मस्थानबारे भइरहेका भ्रामक प्रचारलाई चिर्न बुद्ध बर्न इन नेपालको अभियानमा लागेका नायक ढुंगानालो यो फिल्म भन्दा पनि एउटा शशक्त अभियान भएको बताए । गौतम बुद्ध भारतमा जन्मिएका भनेर संसारका कैयौं देशका पाठ्यपुस्तकमा समाबेस गरिएकाले यो भ्रमलाई अन्त्य गर्दै गौतम बुद्ध नेपालमै जन्मेका हुन भन्ने यथार्थ जानकारीका लागी यो अभियान भएको नायक तथा फिल्म निर्माता ढुंगानाले बताए ।

यो अभियान पछि कोरिया लगायतका केही देशले आफ्नो देशको पाठ्यक्रममा बुद्धको जन्मस्थान भारत भन्ने शब्दलाई संसोधन गरि नेपाल गराएको आफुलाई जानकारीमा रहेको र अन्य देशका पाठ्क्रममा रहेको त्रुटिलाई संसोधन गर्न आफु लागिरहेको उनले बताए ।

फिल्ममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले नेपालको संसदलाई सम्बोधन गर्दै बुद्ध नेपालमै जन्मिएको बताएतापनि अन्य देशमा गएर बुद्धको जन्मस्थान भारत भन्ने प्रचार गरिरहेकोले पनि यो अभियान शशक्त पार्नुपर्नेमा ढुंगानाको जोड थियो । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा नायक ढुंगानाका अलावा अमित ढुंगाना, निर शाह, मिथिला शर्मा लगायतको अभिनय छ ।

फिल्ममा मुख्य पात्र एक्ला छोरा कृष्ण ढुंगाना घरपरिवारको असन्तुष्टिका बिच अमेरिका अध्ययन गर्न आउंदा यहांको पाठ्यपुस्तकमा समेत बुद्ध भारतमा जन्मिएको भनेर लेखिएको पाइएपछि नेपालमा जन्मेको प्रमाण सहित पेश गरिएको छ ।
यसैबीच शनिवार अष्टिनमा प्रदर्शन गरिएको फिल्म बुद्ध बर्न इन नेपाल आइतवार डालसमा प्रदर्शन गर्न लागिएको छ ।

फिल्म अमेरिकाको चर्चित युनिभर्सिटी कर्नेल युनिभर्सीटी र न्युयोर्क लगायतका स्थानमा छायांकन गरिएको थियो । नायक तथा निर्माता ढुंगाना बुद्ध बर्न इन नेपाल अभियानका अध्यक्ष समेत हुन् । उनले यस पछि अव पृथ्बीनारायण फिल्म बनाउने तयारी गरेका छन् ।