‘स्मार्ट’ लामखुट्टे काठमाडौंमा

147

काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने योजना कहिले पूरा होला थाहा छैन। यहाँका लामखुट्टे भने ‘स्मार्ट’ भइसके।

केही समययता काठमाडौंमा भिन्नै प्रकृतिका लामखुट्टे देखिन थालेका छन्, जसको आनीबानी र आकारप्रकार पहिलेको जस्तो छैन।

यी लामखुट्टे राति आउँदैनन्। दिउँसो सक्रिय हुन्छन्। झुल टाँगेर, धूप बालेर टोकाइबाट बचुँला भन्ने छैन।

हामी काममा सक्रिय हुँदा यिनीहरू पनि काममा सक्रिय हुन्छन्। यो बेला लामखुट्टेको आवाज सुनिन्न। आकार यति सानो हुन्छ, झट्ट देखिँदा पनि देखिँदैन।

पहिलेका लामखुट्टे प्याट्ट मार्दा पिच्च रगत आउँथ्यो। त्यो हाम्रो शरीरबाट चुसिएको रगत हो। यी लामखुट्टे मार्दा रगत आउँदैन। कालो, फुस्रो धूलोजस्तो देखिन्छ।

हामी बस्दाबस्दै शरीरमा चिलाएजस्तो हुन्छ। हेर्दा मसिनो बिबिरा आइसक्छ। त्यो बिबिरा विस्तारै शरीरका अरू भागमा फैलिन्छ। केही बेर नराम्ररी चिलाउँछ। कहिलेकाहीँ बिबिरा बढेर ठूल्ठूला फोका पर्छन्। यस्तो भयो भने सम्झनुस्, तपाईं ‘स्मार्ट’ लामखुट्टेको टोकाइमा पर्नुभयो।

गत साता यस्तै भयो। हामी वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठको घरमा थियौं।

अचानक सहकर्मी साथीको हातभरि बिबिरा उठे। न उनले लामखुट्टेले टोकेको चाल पाए, न कोठामा लामखुट्टे नै देखियो।

‘यो नयाँ खालको लामखुट्टेको टोकाइ हो। काठमाडौंमा अचेल यस्तो खुब पाइन थालेको छ,’ घरको आँगनभरि बगैंचा बनाएका श्रेष्ठले भने, ‘बगैंचा र पानी जमेको ठाउँ वरिपरि बढी भेटिन्छ।’

दिउँसो बगैंचामा काम गर्दा लामखुट्टेले दुःख दिएर ‘अन्डाको क्रेट’ बाल्नुपरेको उनले सुनाए।

‘क्रेटबाट निस्कने धूवाँले लामखुट्टे सब भाग्छन्, काम गर्न सजिलो हुन्छ,’ उनले भने।

कौतूहल जाग्यो।

के हो यो नयाँ खालको लामखुट्टे, जुन राति होइन, दिउँसो सक्रिय हुन्छ? जुन यति ‘स्मार्ट’ हुन्छ, हामीले थाहै नपाई आउँछ, टोक्छ, बिबिरा छाडेर अलप भइसक्छ?

यसबारे जान्न हामी कीरा विशेषज्ञ इशान गौतमकहाँ पुग्यौं।

उनी स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालय, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक हुन्। उनले लामखुट्टेबारे अध्ययन–अनुसन्धान गर्दै आएका छन्।

हामीले लामखुट्टे अनुभव विस्तार लाउनेबित्तिकै उनले डाक्टरले रोग खुट्टयाएझैं भने, ‘तपाईंहरूले भन्नुभएको लामखुट्टे डेंगी सार्ने प्रजातिको हो। काठमाडौंमा भर्खर–भर्खर फैलिएको।’

उनका अनुसार सूर्यको प्रकाशमा बढी सक्रिय हुने यो ‘एडिज’ प्रजातिको लामखुट्टे हो। यसले डेंगी भाइरस ओसार्छ।

काठमाडौंमा यो प्रजातिको लामखुट्टे पहिलोपटक सन् २००९ मा पत्ता लागेको उनले बताए। त्यतिबेला काठमाडौं र ललितपुरमा गरिएको एक अनुसन्धानले यहाँको हावापानीमा पनि डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्धानकर्ता चकित परेका थिए।

त्यसअघिसम्म अत्यधिक गर्मी हुने मधेसको हावापानीमा मात्र पाइएको थियो। चितवन, तुलसीपुर, नेपालगन्ज, विराटनगर र वीरगन्जमा बढी सक्रिय थियो।

‘नौ वर्षअघि काठमाडौंमा पनि छ भन्ने रिपोर्ट आयो, अहिले त निकै बढेको छ,’ उनले भने।

‘भनेपछि काठमाडौंमा डेंगीको जोखिम छ?’

‘भाइरस ओसार्ने माध्यम बढेपछि जोखिम बढ्छ नै।’

एडिज लामखुट्टे पनि दुई किसिमका हुँदा रहेछन् — एडिज इजिप्टाइ र एडिज अल्बोपिक्टस।

हामीलाई टोक्ने प्रजाति ‘एडिज इजिप्टाइ’ रहेछ। यसको आनीबानी नै हाम्रो लागि जोखिमपूर्ण छ। यसले हाम्रो घरभित्रै आफ्नो जीवनचक्र चलाउँछ। यो अल्बोपिक्टसभन्दा चहकिलो कालो हुन्छ।

अल्बोपिक्टस झाडी र बारीमा बढी सक्रिय रहन्छ। त्यसैले, सहरी क्षेत्रमा त्यति देखिन्न। इजिप्टाइ भने हामीबीच नै हुर्कंदै जान्छ।

कसरी त?

हामी सधैं सुन्छौं, घरवरिपरि फोहोर पानी छ भने लामखुट्टेको बिगबिगी बढ्छ। यसको स्वभाव भने फरक छ। यसलाई फोहोर होइन, सफा पानी चाहिन्छ। सफा पानीमै फुल पार्छ।

बाल्टिन, ड्रम वा कुनै सानो भाँडोमा थोरै पानी छ भने पनि घर बनाइहाल्छ। त्यहीँ फुल पार्छ। त्यहीँ ‘लार्भा’ हुर्किन्छन्। मिनरलवाटर बोतलको बिर्कोमा अलिकति पानी जम्मा छ भने पनि यसको जीवनचक्र चल्छ। प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यान, गमलामुनि पानी तर्काउन राखिएका प्लेट पनि डेंगी लामखुट्टे हुर्कने सहज ठाउँ हुन्।

हामीकहाँ जताततै थोत्रा टायर फालिएका हुन्छन्। यी टायरमा पानी जम्मा भएर बस्छ। यताउता हल्लाउँदा पनि हत्तपत्त पानी खस्दैन। यही पानी लामखुट्टे हुर्कने सजिलो ठाउँ बनिदिन्छ।

घरका छतमा राखिने पानीट्यांकी पनि यस्तो लामखुट्टेको सजिलो बासस्थान हो। बिर्को खुलेको मौकामा भित्र छिरेर फुल पार्न पायो भने ह्वारह्वार्ती फैलिन्छ।

सफा पानीमा हुर्कने आनीबानीकै कारण डेंगी लामखुट्टे काठमाडौंमा फैलिएको गौतम बताउँछन्।

‘काठमाडौंमा पानी अभाव छ। बाटा, बाल्टिन, ड्रममा पानी जम्मा गरेर नराखी धर छैन,’ उनले भने, ‘यसरी नै जम्मा गरेर राखेका पानीमा हामी डेंगी लामखुट्टे हुर्काइरहेका छौं।’

बढ्दो सहरीकरणसँग हुर्किरहेको यो लामखुट्टेको प्रकोपले काठमाडौं मात्र होइन, संसारका ठूल्ठूला सहर प्रभावित छन्।

एक अध्ययनअनुसार संसारभरिका २ अर्ब ५० करोड जनसंख्या कुनै न कुनै रूपले डेंगी लामखुट्टेको जोखिममा छ।

त्यही भएर स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगीलाई पछिल्लो समयको सबभन्दा जोखिमपूर्ण सरुवा रोगको सूचीमा राखेको छ।

सन् २००६ मा पहिलोपटक नौ जिल्लामा डेंगीका बिरामी भेटिएको महाशाखाको तथ्यांक छ। त्यतिबेला ३२ जना बिरामीमा डेंगी पुष्टि भएको थियो।

त्यसयता यो रोग सार्ने एडिज लामखुट्टे फैलिँदै गयो। सन् २०१० सम्म आइपुग्दा काठमाडौं लगायत मध्यपहाडी क्षेत्रमा पनि भेटिन थाल्यो। अहिलेसम्म ४ हजार ५ सयभन्दा बढी शंकास्पद डेंगी बिरामी उपचारनिम्ति आएको तथ्यांक छ। करिब हजार जनामा डेंगी पुष्टि भइसकेको छ। मृत्यु हुने ५ जना छन्।

डेंगी लामखुट्टेको टोकाइपछि आउने बिबिरा।

इपिडिमियोलोजी महाशाखा निर्देशक डा. विवेककुमार लाल सहरी बस्तीमा घरभित्रै हुर्कन सफल भएकाले यी लामखुट्टे नियन्त्रण चुनौतीपूर्ण बनेको बताउँछन्।

‘यो स्मार्ट हुन्छ। यसको वासस्थान, फुल पार्ने ठाउँ र टोकाइ निकै चलाखीपूर्ण हुन्छ। जस्तो ठाउँमा पनि आफूलाई ‘फिट’ गराउन सक्छ,’ उनले भने।

त्यसै पनि पछिल्लो समय लामखुट्टेको बिगबिगी देशव्यापी बन्दै गएको छ।

पहिले मधेसमा बाह्रै महिना लामखुट्टे टिउँटिउँ गरिरहन्थ्यो। काठमाडौं लगायत मध्यपहाडी भेगमा गर्मी याममा आउँथ्यो, जाडोमा सर्लक्क हराउँथ्यो। अचेल यहाँ पनि बाह्रमासे भएको छ। हुँदाहुँदा मुगु, हुम्ला, जुम्ला पनि पुगिसक्यो।

यी लामखुट्टे मान्छेजस्तै गाडी चढेर तल गर्मी भेगबाट माथि उक्लेको डा. लाल बताउँछन्।

उनका अनुसार सवारीको बढ्दो ओहोरदोहोरसँगै कुनै सामानमा टाँसिएर यिनका फुल आइपुग्छन्। यहाँ अनुकूल वातावरण नपाए त्यसै मर्छन्। पाए हुर्कन थाल्छन्।

मुगु, जुम्लामा अनुसन्धान गर्दा पानीका स्रोत र घरभित्रै लामखुट्टे हुर्कनसक्ने तापक्रम र वातावरण फेला परेको उनले अनुभव सुनाए।

‘यसको कारण जलवायु परिवर्तन हुनसक्छ,’ उनले भने, ‘वा, लामखुट्टेमै चिसो हावापानी थेग्नसक्ने र सफासुग्घरमा बढी हुर्कने प्रजातिको विकासक्रमले पनि यस्तरी फैलिएको हुनसक्छ।’

डेंगी सार्ने लामखुट्टे यही विकासक्रमको नतिजा हो।

लामखुट्टेको प्रकृतिकै कारण डेंगी रोगलाई उनी मलेरिया र कालाजारको तुलनामा बढी जोखिमपूर्ण र चुनौतीपूर्ण मान्छन्।

मलेरिया र कालाजार रोकथाम गर्न मान्छेलाई लामखुट्टेको टोकाइबाट बचाउने विधि अपनाइन्छ। जस्तै, मलेरियाबाट बच्न झुल बाँडिन्छ। औषधि बाँडिन्छ। कोठामा धूप बाल्न सिकाइन्छ। लामखुट्टे हुर्कने नाली र फोहोरमैलामै औषधि छरिन्छ। कालाजारमा पनि रोग फैलाउने भुसुना कीरा मार्न घरका भित्तामा कीटनाशक छरिन्छ।

डेंगीमा यी कुनै उपाय काम नलाग्ने लाल बताउँछन्।

यो लामखुट्टेले दिउँसो टोक्ने हुँदा न झुलले समस्या टर्छ, न धूपले। औषधि छर्ने हो भने पनि कहाँ-कहाँ छर्ने? यस्तो लामखुट्टे हाम्रै भान्छामा बोतलको बिर्कोदेखि गमलामुनिको प्लेटमा समेत हुर्किरहेको हुनसक्छ। कहाँ–कहाँ सफा गर्ने?

त्यसो भए समाधान के त?

हाम्रो यो प्रश्नमा डा. लालले भने, ‘विश्वमा डेंगी लामखुट्टे नियन्त्रण भएका ठाउँको अनुभव हेर्ने हो भने कडा कानुनले मात्र काम गरेको देखिन्छ।’

उनले सिंगापुरको उदाहरण दिए।

सिंगापुरजस्तो सफासुग्घर ठाउँमा पनि केही वर्षअघि डेंगीको प्रकोप थियो। सहरका मूल सडक र रेल्वे स्टेसनहरूमा डेंगीबाट बच्न जनचेतनामूलक बोर्डहरू राखिएका थिए।

यस्ता प्रचारात्मक कार्यक्रमसँगै त्यहाँ कडा कानुन लागू गरियो। घरभित्र र वरिपरि पानी जमाएर राख्नेलाई कारबाही गर्न थालियो। कसैको घरआँगनमा कुनै बोतल, प्लास्टिक भाँडाकुँडा, टायर लगायत डेंगी लामखुट्टे सल्किन सक्ने साधन फेला परे जरिवाना तिराउन थालियो।

‘सिंगापुर त्यसै त ‘फाइन–सिटी’, झन् डेंगीजस्तो प्रकोप रोक्न कतिसम्म कडा भयो होला?’ उनले हाँस्दै भने, ‘यसैको नतिजा, आज सिंगापुरले डेंगी उन्मूलन गरिसक्यो।’

श्रीलंका, पाकिस्तान, भारतले पनि डेंगी महामारी रोक्ने अभियान चलाएका छन्। त्यहाँ पानी जम्मा गर्नेलाई चेतावनी र जरिवाना तिराउने गरिन्छ। कार्यान्वयन भने फितलो छ।

यो हदसम्म कानुनी कारबाही र जरिवानाको व्यवस्था नेपालमा तत्काल सम्भव छैन। त्यसो भए हामीकहाँ डेंगीको जोखिम कहिल्यै हट्दैन त?

‘हामी कोशिस गरिरहेका छौं,’ डा. लालले भने, ‘हामीले मात्र कोशिस गरेर समस्या हट्दैन। सिंगो सहरको समस्या हो। यसलाई हल गर्न सिंगो सहरै जुट्नुपर्छ।’

विभागले डेंगी लामखुट्टे नियन्त्रण गर्ने अभियानअन्तर्गत भाँडाकुँडा सफासुग्घर राख्न र जथाभाबी पानी जम्मा नगर्न आग्रह गरेको छ। पानी राख्नैपरे बिर्को कस्न सुझाएको छ।

उसलाई के थाहा छ भने, पानीको दुःख भएको सहरमा पानी नै जम्मा नगरौं भन्नु त्यति व्यवहारिक हुन्न। तै महामारी रोक्ने हो भने यो उपायमा साथ दिनुपर्ने उनको भनाइ छ।

‘हामी सजिलो उपाय खोज्छौं, औषधि छैन भनेर सोध्छौं,’ उनले भने, ‘डेंगी लामखुट्टे औषधिले मासिँदैन। पानी पाउनासाथ फैलिहाल्छ।’

नियन्त्रण उपाय फितलो भएकैले नेपालमा पटक–पटक विभिन्न जिल्लामा महामारी फैलिएको छ।

सन् २००४ मा पहिलोपटक चितवनमा एक जना विदेशीलाई यो रोग लागेको थियो। त्यसको दुई वर्षपछि महामारी फैलियो। सन् २०१२ मा मेचीको काँकडभिट्टामा १ सय ८३ जना बिरामी परे। गत वर्ष महोत्तरीमा पनि महामारीको रूप लिएको डा. लाल बताउँछन्।

उनका अनुसार पछिल्लो समय काठमाडौंमै फाट्टफुट्ट डेंगी बिरामी देखिन थालेका छन्।

यो लामखुट्टेले डेंगी रोग कसरी सार्छ?

हाम्रो यो जिज्ञासामा लालले भने, ‘तपाईंहरूलाई थाहै होला, लामखुट्टेको स्त्रीजातिले मात्र टोक्छ। गर्भावस्थामा तागतका लागि उनीहरू मान्छे वा जनावरको रगत चुस्छन्। एडिज इजिप्टाइ लामखुट्टेले डेंगी भएको मान्छेलाई टोकेर अर्कोलाई टोक्यो भने भाइरस सर्छ। डेंगी भाइरस बोकेको लामखुट्टेले पारेका फुलबाट निस्केका सबै लामखुट्टेमा यो भाइरस हुन्छ।’

स्वास्थ्य विभागले यति ठूलो चुनौती मानेको यो रोग के प्राणघातक छ? छ भने त डेंगी लामखुट्टेको यति ठूलो बिगबिगीमा ज्यानकै जोखिम भएन?

डा. लालको कुरा सुनेपछि तैबिसेक ढुक्क भइयो।

यो लामखुट्टे रोकथाम गर्न जति गाह्रो छ, डेंगी रोगबाट ज्यान जाने सम्भावना उति कम हुँदो रहेछ। हुन पनि सहरी बस्तीमा हाम्रो घरभित्रै घुलमिल भइसकेको लामखुट्टेले डेंगी सार्नेबित्तिकै मान्छे मर्ने भए कतिको ज्यान गइसक्थ्यो होला!

उनका अनुसार डेंगी लागेर जान जानेको आँकडा कम छ।

‘डेंगी भाइरसका चार प्रकार हुन्छन्,’ उनले भने, ‘पहिलो प्रकार (टाइप–१) को भाइरसमा सामान्यतया ज्वरो, रुघाखोकी, टाउको दुख्ने र एकदमै धेरै जीउहात गल्छ। आँखाका गेडी फुट्लाजस्तो हुन्छ।’

यस्तो अवस्थामा सामान्य पारासिटामोल र झोलिलो पदार्थ खाए त्यसै ठीक हुन्छ। धेरैले त डेंगी लागेको थाहा पनि पाउँदैनन्।

कोही–कोहीमा भने आँखा, नाक, मुखबाट रगत बग्ने लक्षण देखिन्छ। यस्तो अवस्थामा पुगेको मान्छेले राम्ररी उपचार नपाए ज्यान जान सक्छ।

उनले अझ खुलस्त पार्दै भने, ‘एकपटक टाइप–१ भाइरसयुक्त लामखुट्टेले टोकेर कसैलाई डेंगी लाग्यो र ऊ पारासिटामोल खाएर ठीक भयो। अर्कोपटक फेरि त्यही भाइरसयुक्त लामखुट्टेले टोके उसलाई खासै फरक पर्दैन। तर, त्यही मान्छे टाइप–२ वा अरू प्रकारका भाइरससँग संक्रमण भयो भने जोखिम बढ्छ। जटिलता बढ्छ।’

नेपालमा कुन प्रकारको डेंगी लागेको छ भनेर पत्ता लगाउने सुविधा नभएको उनले बताए।

‘यो प्रयोगशालामै लगेर जाँच गराउनुपर्छ। हामीले तुरुन्त गर्ने जाँचमा सम्भव हुँदैन। डेंगी छ कि छैन भन्ने मात्र देखिन्छ,’ लालले भने।

धेरैलाई डेंगी रोगको यस्तो प्रकृतिबारे जानकारी नहुँदा बढी आतंकित हुने गरेको उनले बताए।

हामीले अन्त्यमा डा. लाललाई त्यही प्रश्न सोध्यौं, जसले यसबारे जिज्ञासा बढाएको थियो- ‘यस्तो लामखुट्टेले टोक्दा शरीरमा बिबिरा किन आउँछ?’

‘यसको टोक्ने तरिका र थुकले गर्दा,’ लालले भने, ‘यसले मलेरिया वा हात्तीपाइले सार्ने लामखुट्टले जस्तो आफूलाई चाहिने रगत एकैपटक चुस्दैन। एक ठाउँबाट अलिकति, अर्कोबाट अलिकति गर्दै पेट भर्छ। यसले रोग सार्ने जोखिम अझ बढी हुन्छ।’

यसलाई यसरी बुझौं।

एडिज लामखुट्टेलाई एक मिलिलिटर रगत खानुछ भने, एक जना मान्छेबाट ०.१ मिलिलिटर लिन्छ। त्यसपछि अर्कोबाट ०.१ मिलिलिटर। यही क्रममा दस जनालाई टोकेर आफ्नो पेट भर्छ।

यसरी टोक्दा छाड्ने थुकले ‘एलर्जी’ भएर बिबिरा देखिने उनले बताए।

‘यस्तो लामखुट्टे छुसुक्क टोकेर अलिकति रगत चुसेर भागिहाल्छ। हत्तपत्त टोकेको थाहै हुँदैन,’ उनले भने, ‘थाहा पाउँदासम्म टोकेको ठाउँमा बिबिरा छाडेर भागिसक्छ।’

त्यही भएर त, काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने योजना कहिले पूरा होला थाहा नभए पनि यहाँका लामखुट्टे भने ‘स्मार्ट’ भइसके।