१० करोड को लगानी मा सूर्यविनायकको फ्याक्ट्रीमा नेपाली ब्रान्ड बनाउने सपना

154

मेसिनमा खुट्टा तलमाथि हुँदै, रोकिँदै। खर्र.. खर्र … आवाज। कतै कपडा कटिङ गरिरहेका झुरुप्प देखिन्थे। कैंची चलिरहेको आवाज।

कोही बोरामा ज्याकेट प्याक गरिरहेका थिए, खस्याक-खुसुक।

शुक्रबार छुट्टीको दिन भए पनि कतिपय मजदुरहरू कारखानामा काम गरिरहेकै थिए, कल्याङ-मल्याङ।

सूर्यविनायक-६ मा अरनिको गार्मेन्टमा हिजोआज मजदुरहरूको आवतजावत बाक्लिएको छ।

यहाँ दैनिक तीन सय जनाजति मजदुर छन्। कामबाहेक खाना, खाजा, नुहाउने, धुवाउने प्रबन्ध यहीँ छ। बाक्लो उपस्थितिबाट निस्किने आवाजले वरिपरिको वातावरण बिहानैदेखि गुञ्जिन्छ।

अरनिको गार्मेन्ट भदौ १ गतेदेखि सञ्चालनमा आएको हो। यो सञ्चालनमा ल्याएका हुन्- चार युवा उद्यमीले। उनीहरुले बैंकबाट १० करोड रुपैयाँ ऋण लिई गार्मेन्ट उद्योग सुरू गरेका हुन्।

विराटनगरका रबिन्द्र तिम्सिना, काभ्रे ढुङखर्कका अशोक तिम्सिना, काठमाडौंका विनोद श्रेष्ठ र बौद्धका युवा माधव दाहालको संयुक्त लगानीमा उद्योग सुरू भएको हो।

रबिन्द्र र अशोक। 

नेपालमै कपडा उत्पादन गरी अहिले स्वदेशी बजारमै बेच्ने उनीहरूको योजना छ। ३५ वर्ष हाराहारीका यी चार युवा स्वदेशी बजारमा जम्न कस्सिएका छन्।

यहाँसम्म आइपुग्दा यी युवाहरूले लामो यात्रा तय गरेका छन्।

चार जनामध्ये विराटनगरका रबिन्द्र दुई हजार रुपैयाँ बोकेर २०६३ सालमा काठमाडौं हिँडेका थिए। काम गर्दै पढ्ने सोच लिएर हिँडेका विराटनगर-१२ का तिम्सिना यो कम्पनी स्थापनामा नेतृत्वदायी भूमिकामा छन्।

तर, लगानी भने चारै भाइको बराबर छ। चार जनाको भाग लाग्दा उनको लानी साढे दुई करोड रुपैयाँ देखिन्छ।

दुई हजार बोकेर राजधानी छिरेका तिम्सिनाले १० वर्षमा दुई करोड लगानी गर्न सक्ने हैसियत कसरी बनाए त?

रबिन्द्र महेन्द्र मोरङ क्याम्पसमा बिबिएस पढ्दापढ्दै काठमाडौं आएका थिए। काठमाडौं आएर काम खोजे।

अनामनगरमा डेरा बसेर एक वर्षसम्म काम खोजिरहे। तर, काम भेट्न मुस्किल पर्‍यो।

‘सर्टिफिकेट बोकेर हिँड्नु दैनिकी बन्यो,’ उनले भने, ‘कतै काम पाइँदैनथ्यो।’

घर परिवार र साथीभाइको सहयोगमा उनी डेराभाडा, खाइखर्च व्यवस्थापन गर्थे।

कामको खोजीको क्रममा एक दिन विनोद श्रेष्ठसँग भेट भएको थियो। बुद्धनगर घर भएका विनोद उद्योगी थिए।

बालाजुमा उनको जुत्ता कारखाना थियो। रबिन्द्रले विनोदसँग जागिर मागे। विनोदले जागिए दिए। मार्केटिङ अफिसरको रुपमा रबिन्द्र त्यहाँ काम गर्न थाले।

बीचमै रोकिएको पढाइलाई जोड्न खोजे। आरआर क्याम्पसमा रुलर डेभलपमेन्ट विषयमा ब्याचलर भर्ना भए।

अरनिको कारखानामा काम गर्दै मजदुरहरू।

पढ्दै काम गरिरहेका थिए। विनोदकहाँ काम थालेको एक वर्ष मात्र पुग्दै थियो। काम गर्ने सिलसिलामा अाफैं केही गर्ने सोच रबिन्द्ररसँग माैलाउँदै गयो। रबिन्द्र विनोदको कम्पनीबाट टाढा भए।

रबिन्द्र फेरि पुरानै अवस्थामा फर्किए- काम खोज्ने। यसबीचमा पढाइमा भने उनले थोरै ध्यान बढाए।

२०६६ सालको कुरा हो। तिनै विनोदले रबिन्द्रसँग भेट्न प्रस्ताव राखे।

बबरमहलमा विनोदको गार्मेन्ट थियो-डोनिभ प्रोडक्सन। अस्तित्व हराउँदै गएको त्यो उद्योग पुनःस्थापना गर्न सकिन्छ कि भनी विनोदले छलफल गर्न डाकेका रहेछन्।

भेटमा बन्द अवस्थामा रहेको यो कारखाना ब्यूँताउने इच्छा विनोदले राखे।

‘सायद उहाँले मेरो काम गर्ने तरिका मन पराउनुभएछ,’ रबिन्द्रले भने, ‘म काममा एग्रेसिभ थिएँ।’

विनोदले रबिन्द्रसँग साझेदार बन्ने प्रस्ताव राखे। साझेदार बन्न १० लाख रुपैयाँ जुटाउनु पर्ने भयो। आफन्त र साथीभाइसँग ऋण खोजेर लगानी जुटाए।

तीन वटा मेसिन किनेर गार्मेन्ट पुनःस्थापना गरे। सुरूमा झोला उत्पादन थाले। ‘ब्ल्याक हिल्स’ नामको झोला उद्योगबाट बजारमा जान थाल्यो।

आम्दानीअनुसार लगानी बढाउँदै लगे। ६ महिनामा ५ वटा मेसिन थपे। एक वर्षपछि ३५ वटा पुर्याए। यति मेसिन भएपछि बजारमा माग अनुसार सामान पठाउन निकै सजिलो भयो।

दैनिक डेढ सय झोला र सोही परिमाणमा ज्याकेट उत्पादन क्षमता थियो। महिनाको डेढ करोडजति कारोबारी हुन्थ्यो। ७०/८० जना मजदुर थिए। आम्दानी अलिअलि बढ्न थालेको थियो।

यहीबीचमा रबिन्द्र अन्तर्राष्ट्रिय बजार घुम्न निस्किए। चीन, भारत, बंगलादेश लगायत मुलुक गए। त्यहाँ नेपालमा उत्पादन भएको कपडाको आवश्यकता देखे। नेपाल फर्केपछि ठूलो गार्मेन्ट उद्योग खोल्ने सोच बनाए।

उत्पादनको बजारीकरण सिलसिलामा पहिल्यैदेखि काभ्रेका अशोकसँग न्यूरोडमा भेट हुने गरेको थियो। अशोक न्यूरोडमा तयारी पोशाकको होलसेल पसल चलाउँथे।

उनी पनि काभ्रेबाट कामको खोजीमा काठमाडौं छिरेका थिए। अरुकहाँ काम गर्दागर्दै आफ्नै लगानीमा पसल खोलेका थिए। पछि होलसेलर भएका थिए।

कम्पनी र उत्पादन प्रचार-प्रसारमा हिँड्दा पुगिरहने भएकाले रबिन्द्र र अशोकबीच राम्रै चिनजान भइसकेको थियो। अन्तिममा दुबै जना एकै ठाउँ उभिने निचोडमा पुगे।

‘हाम्रो परिवार, को कहाँ खास केही पनि थाहा छैन,’ दुबैले भने, ‘मन जोडियो, उद्योग थालियो।’

२०७५ सालबाट उद्योग सुरू गर्ने योजना बनाए।

उनीहरू कम्पनी विस्तार गर्ने निधोमा पुगिरहँदा विनोद पनि थपिए। अशोकसँग चिनजान भएका न्यूरोडका अर्का युवा व्यापारी माधव दाहाल पनि मिसिएपछि बन्यो चार जनाको समूह।

चारै जना मिलेर दस करोड ऋण जुटाउने निधो गरे। अशोक र रबिन्द्रले आफ्नो घर जग्गा धितो राखेर ऋण निकाले। बाँकी विनोद र माधवले अाफूले कमाएको सम्पत्तिबाट रकम जोहो गरे।

‘पौरखले नै जग्गा-जमिन जोडिएको थियो, व्यापार बढाउने ध्यानमा बैंकमा धितो राखियो,’ रबिन्द्रले भने।

रबिन्द्र र विनोदसँग ३५ वटा मेसिन थिए। बैंकमा केही रकम थियो। त्यस्तै, दुई करोड हाराहारीको सम्पत्ति थियो। त्यो पनि अरनिकोमै मिसाए।

सूर्यविनायकमा उनीहरूले सञ्चालन गरिरहेका उद्योग संरचना भाडाको हो। मासिक एक लाख रुपैयाँ घर भाडा तिर्नुपर्छ। गोदामदेखि, कार्यालय, मजदुरलाई बस्ने-खाने व्यवस्था यहीँ अँटेको छ।

भदौ १ गतेबाट औपचारिक रुपमा उद्घाटन भएको गार्मेन्टमा दुई सय मेसिन छन्। दुई सय भारतीय र एक सय नेपाली कामदार छन्।

हिउँद सुरु हुनुअघि नै न्याना ज्याकेट उत्पदान गरेर बजार पुर्याउने उनीहरूको लक्ष छ। अहिले दैनिक एक हजार पिस ज्याकेट उत्पादन हुन्छ।

प्रतिज्याकेट बढीमा १५ सय रुपैयाँमा बजार जान्छ। यसहिसाबले एक महिनामा यो उद्योगले साढे चार करोडसम्म कारोबार गर्छ।

उनीहरूको अहिलेको मुख्य बजार काठमाडौं नै हो। काठमाडौंका होलसेल पसलमा उनीहरूको उत्पादन जान्छ।

अहिले जेन्स ज्याकेटहरू मात्र उत्पादन भइरहेका छन्। विस्तारै लेडिज र बालबालिकाका लागि पनि उत्पादन थाल्ने उनीहरूले बताए।

अहिले बजारबाट धमाधम माग आइरहेको छ। ‘संघ-संस्था, स्कुल-कलेजबाट धमाधम बुकिङ भइरहेको छ,’ रबिन्द्रले सुनाए। कुराकानीकै बीचमा रबिन्द्रले ग्राहकसँग केही समय टेलिफोनमा ‘डिल’ पनि गरे।

‘देशका प्रमुख सहरहरूमा नेपाली उत्पादन बढाउने लक्ष्य छ,’ उनले भने, ‘चीनबाट आयातित लुगा-कपडा विस्तारै विस्थापित गराउन चाहन्छौं।’

उनीहरूका अनुसार अहिले चीनका लुगा-कपडाले बजार ओगटेका छन्। यहीँ उत्पादन हुने पोशाक र चिनियाँ तयारी पोशाकमा खासै भिन्नता भने छैन।

कच्चापदार्थ चीनबाटै आउने हो। नेपालमा आइपुगेपछि डिजाइन र सिलाइ सुरू हुन्छ। एउटै कच्चापदार्थ, कपडा उही हो। चीनमा मजदुरको ज्याला बढ्दै गएकोले ज्याकेटका मूल्य पनि बढ्न थालेको छ।

नेपालमै राम्रो उत्पादन बन्न थाले पनि अझै विश्वासिलो ‘ब्राण्ड’ बन्न सकेको छैन।

‘नेपालको ब्राण्ड नभएकाले चिनियाँ सामानमा मान्छेको विश्वास बढेर गएको हो,’ तिम्सिनाद्वयले भने।

पछिल्लो समय नेपालमा शिखर सुजको ‘ब्राण्ड’ स्थापित भयो। ‘गोल्डस्टार’को पनि उस्तै लोकप्रियता छ। त्यस्तै नेपाली ‘ब्राण्ड’को लुगाकपडा छैन।

नेपालमा बुनिने ढाका लोकप्रिय छ। तर, त्यसको ‘ब्रान्ड’ बनाउन कसैले पहल गरेको छैन। तेह्रथुमे, इलामे, पाल्पाली ढाका नेपाली बजार अतिरिक्त भारतको सिलिगुडी र दार्जिलिङमा बढी खपत हुन्छ।

यी युवाहरू आफ्नो उत्पादनको ‘ब्रान्ड’ बनाउने सोचमा लागेका छन्। ‘हामी एक वर्षसम्ममा आफ्नै लोगो हालेर बजारमा सामान पठाउँछौं,’ उनीहरूले भने, ‘यसका लागि केही समय अनुसन्धान नै गर्नुपर्छ।’

अरनिको गार्मेन्टले केही समयमै जिन्स पाइन्ट, सुरुवाल, हाफ पाइन्ट, गर्मीमा लगाउने पातलो ज्याकेट उत्पादन गर्दैछ। ‘यो पाइपलाइन प्रोजेक्ट हो,’ उनीहरूले भने। यति हुँदा बजारमा नेपाली जिन्स पनि पुग्ने र त्यसले आकर्षण बढाउने विश्वास उनीहरूको छ।

प्रमुख चुनौती गुणस्तर हो। एउटै कच्चापदार्थ प्रयोग भएर बन्ने सामान फरक नहुने रबिन्द्रको धारणा छ। ‘क्वालिटीको सामग्री प्रयोग गरेपछि चीन न नेपाल, हामीकहाँ प्रशस्तै डिजाइन छन्,’ उनले भने।

अर्को समस्या भन्सारको छ। तातोपानी नाका बन्द छ। केरूङ नाका खुला भए पनि कहिले पहिरो जाने, कहिले पुल भत्किने समस्या छ। आफैंमा यो मार्ग अप्ठ्यारो भएकाले कच्चापदार्थ आयातमा कठिनाइ छ। ‘हिजोआज पुल भत्किएर सामान रोकिएको छ,’ अशोकले भने।

केरूङ नाकामा अर्को समस्या सिण्डिकेट हो। भन्सार एजेन्टहरू आफ्नो फर्मबाट सामान खरिद गर्न दबाब दिन्छन्। जसले उनीहरूको फर्म प्रयोग गर्दैन, जाँचपास समयमा गर्दैनन्।

‘एक किसिमको दादागिरी नै छ, कम मूल्यांकन गराएर राजश्व लुट्न पल्केका छन्,’ तिम्सिनाद्वय भन्छन्, ‘हामीले आफ्नो फर्म प्रयोग गर्न खोजेका छौं, तर भन्सार एजेन्टले व्यवधान गरिदिन्छन्।’

उनीहरूका अनुसार सरकारको ध्यान नेपाली उत्पादन बृद्धिमा छैन। आयातमा परनिर्भर सरकार नेपाली उत्पादन प्रोत्साहित गर्न पनि चाहँदैन। यसकारण नेपाली उत्पादकत्व बढ्न नसकेको बुझाइ उनीहरूको छ।

नेपालमै कच्चापदार्थ उत्पादनको सम्भावना छैन। आयातित कच्चापदार्थबाट निर्मित सामग्री पनि प्रोत्साहन नगर्ने हो भने नेपालमा गार्मेन्ट कारखाना फस्टाउन नसक्ने उनीहरुको भनाइ छ।

सरकारले कच्चापदार्थ आयातमा सहुलियत दिएको छैन। बैंकको ब्याज चर्को छ। ‘१२ प्रतिशत बैंक ब्याजले ढाड सेक्छ,’ रबिन्द्र भन्छन्, ‘कच्चापदार्थ आयातमा सहुलियत पाए केही भए पनि राहत मिल्थ्यो।’

अर्को एउटा बाध्यता सिलाइ-कटाइमा छ। पहिले पनि नेपाली कामदार पाइन्नथे। अहिले पनि। सिलाइ-कटाइको काममा भारतीय मजदुर खोज्नुपर्छ।

‘नेपालीहरू कोही पनि सिलाइ-कटाइको काममा छैनन्,’ रबिन्द्र भन्छन्, ‘भारतीय मजदुर हिँडे भने कम्पनी बन्दै गर्नुपर्छ।’ काम सिकेका नेपाली विदेश जाने, कोही त काम सिकेर भाग्ने गरेको रबिन्द्र बताउँछन्। भारतीय मजदुर काममा अलि बढी मेहनत गर्छन्, तर उनीहरू पनि कहिलेकाहीँ भाग्छन्।

रबिन्द्र घरका एक्ला छोरा हुन्। चार दिदीबहिनी र आमा-बुवा विराटनगरमै छन्। उनको स्थायी बासस्थान काठमाडौं नै भएको छ। विराटनगर जाने समय खासै मिल्दैन। श्रीमती र एक छोरा छन्। अनामनगरको डेराबाट उनी सूर्यविनायक धाउँछन्।

कम्पनी स्थापना भएदेखि नै दिनमा एक पटक नपुगी मन मान्दैन।

यी जोशीला युवाहरु साझेदारी कम्पनीमा मजदुरसरह खटिने गरेको बताउँछन्। सल्लाहमै विनोदलाई कम्पनीको अध्यक्ष बनाएका छन्, अरू सदस्य बसेका छन्।

‘उहाँ हामीभन्दा जेठो र काममा लगनशील भएका कारण अध्यक्ष राख्यौं, हामी अरू सबै बराबर पोजिसनमा छौं,’ उनीहरूले भने, ‘हामी यहाँ १६ घन्टासम्म बसेर मजदुरसँगै काम गरिरहेका हुन्छौं।’

सूर्यविनायकको कम्पनीमा दिलोज्यानले लागेका यी युवाहरूको सपना भने धेरै टाढा-टाढा सम्म पुग्न थालिसकेको छ।

‘हाम्रो उत्पादन कुनै दिन युरोप, अमेरिकासम्म पुग्छ,’ अरनिको गार्मेन्टबाट उत्पादित ज्याकेट देखाउँदै उनीहरूले भने, ‘यो सहकार्य जारी राखेर हामीले मल्टिनेसनल कम्पनी बनाउने हाम्रो सपना छ।’

(सेतोपाटी बाट साभार गरिएको)