बंगलादेशमाथि २-० ले शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

144

बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ मा घरेलु टोली बंगलादेशलाई २-० गोल अन्तरले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालको जितमा बिमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे।

खेलको ३३औं मिनेटमा बिमल घर्तिमगरले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए। यसअघि मैदानको मध्यभागबाट विमलले प्रहार गरेको फ्रिकिकमा विमलको दर्शनीय गोल गर्दै अग्रता दिलाए।  विमलको प्रहारलाई बंगलादेशका गोलरक्षक सहिदुल अलामले राम्रो सँग ठम्याउन नसक्दा घरेलु टोली मध्यान्तर अघिनै १–० ले पछि परेको थियो।

सुनिल बललाई वाले फैजले फाउल हानेपछि नेपालले फ्रिकिक पाएको थियो। उक्त मौकालाई बिमलले पोलको दिशा दिएका हुन्। विमलको प्रहार हातमा आइसकेको बल घरेलु टोलीका गोलकिपर मोहम्मद साहिदुल आलमले फुत्याएपछि गोल भएको थियो।

पहिलो हाफ १-० ले अघि रहेको नेपालले दोस्रो हाफको अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित निश्चित पारे। ६७ औं मिनेटमा भरत खवासलाई प्रतिस्थापन गरेका नवयुगले विशाल राईको पासलाई सदुपयोग गरेका थिए।

अघिल्लो खेलमा भुटानलाई हराउँदै पाकिस्तान प्रतियोगिताको सेमिफाईनल पुगेपछि नेपाललाई जित्नैपर्ने दबाब थियो।

यो जितसँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान र बंगलादेशको पनि समान ६-६ अंक भए पनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो। नेपाल, बंगलादेश र पाकिस्तानको समान ६ अंक भएपछि तीन टोलीबीचको नतिजा हेरिएको थियो। तीन टोलीको खेलमा गोलअन्तरका आधारमा नेपाल अगाडि भएपछि समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो।

यो सँगै सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो। नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो। यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको थियो। तर सेमिफाइनल भन्दा माथि बढ्न सकेको छैन।

सेमिफाइनलमा नेपालले समूह बी को उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह बी को विजेता र उपविजेताको टुंगो आइतबार हुने भारत र माल्दिभ्सबीचको खेलले लगाउनेछ ।

बंगलादेश र भुटान प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन्।