जोसिली तारादेवी ले तोडिन् आफ्नै रेकर्ड

97

जाकर्ता इन्टरनेसनल एक्स्पो हल । तारादेवी पुन भेटिँदा चम्किलो अनुहारमा थिइन् । अनुहारमा स्पष्ट झल्किरहेको थियो, जाकर्ता एसियाडमा तारादेवीको प्रदर्शन कस्तो भयो भन्ने । ‘यो मैले सोचेको जस्तो प्रदर्शन थियो,’ ३४ वर्षीया तारादेवीले केही प्रश्न राख्न नपाउँदै भनिन् । १८औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत भारोत्तोलनमा ७५ केजी तौल समूहमा तीनवटा राष्ट्रिय कीर्तिमानी राखेकी तारादेवीको योजना नै परिवर्तन भएको छ । विदेशमा भए यस उमेरमा लगभग खेलाडीले खेलजीवनबाट सन्न्यास लिइसक्छन् । या लिने योजनामा हुन्छन् ।

एकैपटक सन्न्यासको कुरो किन उठ्यो भन्ने लाग्न सक्छ । एसियाडमा सहभागी हुनुअघि तारादेवीको यो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो भन्ने धेरैले अनुमान गरेका थिए । तर, उनले जाकर्ता एसियाडबाट सबैका अनुमान गलत साबित गरिदिइन् । ‘सबैको सोचाइलाई गलत साबित गरेकी छु,’ उनी भन्छिन् । नेपाल फर्किएर सक्रिय रूपमा भारोत्तोलनमै लाग्ने प्रण गर्दै उनले भनेकी छिन्, ‘अहँ ! अब मेरा योजना खेलमै केन्द्रित हुनेछन् ।’ कम्मरसम्म लत्रिएको लामो कपाल हल्का मिलाउँदै तारादेवीले भनिन्, ‘म थप ऊर्जाका साथ खेलमै रमाउनेछु ।’

यसअघि एसियाडको प्रदर्शनअनुसार करिअरको चिन्ता उनलाई पनि लागेको थियो । ‘एसियाडमा सोचेजस्तो प्रदर्शन नहुँदा के गर्ने भन्ने थियो,’ पुनः कपाल मिलाउँदै उनले थपिन्, ‘आफ्नै नाममा रहेको तीनवटा राष्ट्रिय कीर्तिमानी तोडेपछि अब थप केही वर्ष भारी फलाम उचाल्ने योजना बुनिरहेकी छु ।’

तारादेवीले आफ्नै नाममा रहेको कीर्तिमानी भंग गरेकी छिन् । यस क्रममा उनले स्न्याचमा ७४, क्लिन एन्ड जर्कमा १०१ र कुलमा १ सय ७५ केजी तौल उचालेकी हुन् । यसअघि उनले नेपालगन्जमा ७३ केजी स्न्याचमा र क्लिन एन्ड जर्कमा ९८ केजी तौलको रेकर्ड बनाएकी थिइन् । एसियाडमा राम्रो प्रदर्शन हुनुको कारण आफूलाई राम्रो प्रशिक्षण भएको बताउँछिन् । नेपालको प्रशिक्षणपछि भारोत्तोलन टोलीले दुई साता थाइल्यान्डमा बिताएको थियो । थाइल्यान्डमा थप स्तरीय प्रशिक्षण पाएपछि नेपाली टोलीले जाकर्तामा प्रतिस्पर्धा गरेको हो ।

यसपटक जाकर्तामा चार नेपाली भारोत्तोलन खेलाडीले राम्रो प्रदर्शन गरे । त्यसको पछाडि राम्रो प्रशिक्षण भएको तारादेवी मान्छिन् । ‘यसपटक हामीहरूको प्रदर्शन निकै राम्रो भयो,’ एसियाडमा व्यक्तिगत प्रदर्शन सुधार हुनु र ९ राष्ट्रिय कीर्तिमानी बन्नुको रहस्य उनले खोलिन् । प्रशिक्षकहरूको मिहिनेतकै कारण इन्चोनभन्दा जाकर्ता एसियाड राम्रो भएको उनको तर्क छ ।

‘हामीहरूको प्रयासले मात्र यो सबै सम्भव भएको होइन, हाम्रो प्रदर्शन सुधार्न गुरुहरूले पनि धेरै मिहिनेत गर्नुभएको छ,’ गुरुहरूको मिहिनेत खेर नगएको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘एकल प्रयासले एसियाडमा राम्रो हुने थिएन ।’ प्रदर्शनको सफलतासँगै मिलेको हौसलाका कारण तारादेवीले तत्काल भार उठाउने खेलबाट बिदा नहुने बताइन् । केही वर्ष यसैमा रमाउने योजना सुनाइन् । ‘अब केही वर्षसम्म यसै खेलमा राम्रो प्रदर्शन गर्दै रमाउने प्रयास गर्नेछु,’ उनले भनिन्, ‘यहाँ मैले धेरैको सोचाइ परिवर्तन गर्न सफल भएकी छु ।’

तत्कालै सन्न्यासको कुरा नगर्न र शब्द उच्चारण नगरिदिन उनले आग्रह गरिन् । ‘अहिले नै यो सन्न्यास शब्द कस्तो असजिलो लागेको छ,’ उनी भन्छिन् । वास्तवमा सन्न्यास शब्द कहिल्यै सुन्न नपरोस् भन्ने चाहना तारादेवीको छ । खेलाडी भएपछि एक न एक दिन सन्न्यासको ट्याग आउने उनलाई स्पष्ट ज्ञान छ । तर, अहिले नै त्यो समय आइनसकेको उनी बताउँछिन् । ‘हो, प्रत्येक खेलाडीले सन्न्यास लिनुपर्छ,’ जित र हारको सामना गर्नुपर्ने क्षण सम्झिँदा उनी भावुक हुने गर्छिन्, ‘अब निश्चित बिन्दुमा पुगेपछि म यसतर्फ ध्यान दिन्छु ।’ जाकर्ता एक्स्पो जाने प्यासेजभित्र छिरेको घाम छेक्दै तारादेवीले अगाडिको योजना सुनाइन् । ‘अब सागमा केही गर्छु,’ आउँदो वर्ष काठमाडौंमा हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई इंगित गर्दै उनले भनिन्, ‘अहिलेसम्मकै ऐतिहासिक प्रदर्शन गर्छु ।’

ऐतिहासिक पक्षको सम्बन्धमा उनले कुरा उठाइहालिन् । तारादेवीले ऐतिहासिक प्रदर्शन सम्बन्धमा धाराप्रवाह रूपमा बोलिरहँदा कस्तो किसिमको ऐतिहासिक प्रदर्शन ? राष्ट्रिय कीर्तिमानी तोड्ने किसिमको प्रदर्शन वा पदक जित्ने ? झट्टै उनले जवाफ फर्काइन्, ‘सागमा म राष्ट्रिय कीर्तिमानीका लागि प्रयास गर्दिनँ, अब मेरो लक्ष्य नेपाललाई कम्तीमा रजत पदक दिलाउनु हो ।’ जाकर्ता एसियाडको प्रदर्शनपछि १३औँ साग खेलमा रजत जित्ने आत्मविश्वास उनमा पलाएको छ ।

‘कम्तीमा म रजत दिलाउँछु, यदि सबै पक्ष मिल्यो भने १३औँ सागमा स्वर्ण पनि हात पार्न पनि पछि पर्दिनँ,’ अहिलेदेखि नै १३औँ सागका लागि रोमाञ्चित र उत्साहित भएकी तारादेवीले भनिन्, ‘यो सबै विश्वास जाकर्ता एसियाडबाट मिलेको हो ।’ १३औँ साग सम्झिँदा उनी जोसिन्छिन् । अर्कोतिर ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा वर्तमानमा प्राप्त सुविधाले केही पनि गर्न नसक्ने सम्झिँदा गम्भीर हुन्छिन् । अहिले राज्यको लगानी केवल साग र एसियाडसम्म काम लाग्ने, तर विश्वका राम्रा खेलाडीलाई टक्कर दिन त्यो अपुग भएको उनको अनुभव छ ।

‘राम्रो राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्नका लागि अहिलेको लगानी काफी छैन,’ राज्यको लगानीप्रति चिन्ता गर्दै उनी भन्छिन्, ‘खेलाडीलाई १२ महिनाको प्रशिक्षण हुनुपर्छ ।’ नेपालमा निरन्तर रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा युवा खेलाडीले राम्रो गर्न सक्ने उनको विश्लेषण छ, विश्वास छ । ‘खेलाडीले अन्तर्राष्ट्रिय रिङमा राम्रो नतिजा निकाल्न अन्तर्राष्ट्रिय एक्सपोजर खेल हुनुपर्छ र नियमित अभ्यास पनि,’ उनको आग्रह छ ।

खेलजीवनको उत्तराद्र्धमा पुगेकी तारादेवीको जोस देख्दा सबै अचम्मित हुन्छन् । रंगशाला र नेपाल पुलिस क्लबमा फलामे ठुल्ठूला रिङ उचाल्नु र तल बिसाउनु उनको दैनिकी हो । ‘यसमा रमाएपछि मलाई केही पनि गाह्रो लागेन, आत्मविश्वास हुनुपर्छ, उमेरले केही छेक्दैन रहेछ,’ उनी भन्छिन् । जीवनमा कहिल्यै हिम्मत नहार्ने तारादेवी नेपाली महिला भारोत्तोलनकी इतिहासकै सर्वाधिक सफल खेलाडीमा पर्छिन् । अहिले उनको नाममा एउटा ट्याग छ । नेपालकै सर्वाधिक बलियो महिला खेलाडी । यो ट्याग गत जेठमा नेपालगन्जमा भएको एसियाड छनोट प्रतियोगितामा सर्वाधिक तौल उचाल्दै उनले पाएकी थिइन् ।

लगातार ५ वर्ष नेपालकै सबैभन्दा बलियो महिला खेलाडी बनेकी तारादेवीले सागमा एक कास्य जितेकी छिन् । लगातार १५ वर्षदेखि नेपाली महिला भारोत्तोलनकी स्टार खेलाडी भइरहँदा थकित नभएकी तारादेवी धेरै युवा पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा उभिएकी छिन् । उनीजस्तै साहसी खेलाडी जन्माउन उनैले दिएको सुझाबजस्तै राज्यले खेलाडीमा लगानी बढाउन र निरन्तर प्रशिक्षण दिन भने आवश्यक छ ।

(इनयाँपत्रीका बाट साभार गरिएको)