कोहलपुर । कोहलपुरमा तीनदिने विकास पत्रकारिता तालिम मंगलबारबाट सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा क्रियाशील पत्रकार समूहको समन्वयमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले पत्रकारले विकासका क्षेत्रमा पनि कलम चलाउनुपर्ने बताए । उनले निष्पक्षरूपमा कलम चलाई पत्रकारले सल्लाह र सुझाव दिनुपर्ने धारणा राखे ।
उपमेयर सञ्जुकुमारी थारुले पत्रकारले नगरपालिकाभित्र भएका विकास कार्यक्रमका सकारात्मक तथा आलोचनात्मक दुवै किसिमका समाचार संप्रेषण गर्नुपर्ने बताइन् । यसले नगरपालिकालाई काममा हौसला प्रदान हुने र सहजता दिलाउने उनको भनाइ छ ।
कोहलपुर नगरविकास समिति अध्यक्ष अवराज खड्काले कुनै किसिमको आग्रह, पूर्वाग्रहमा नरहेर समाचार संप्रेषण गर्नुपर्ने बताए ।
तालिममा कोहलपुर क्षेत्रका २० जना पत्रकारको सहभागिता छ । सहभागीलाई वरिष्ठ पत्रकार तिर्थ कोइराला र धर्मेन्द्र झाले प्रशिक्षण दिइरहेका छन् ।
सामाजिक विकास समिति संयोजक तथा कोहलपुर–१० का वडाध्यक्ष निमबहादुर चलाउनेको सभपातित्वमा भएको तालिम उद्घाटन सत्रको सञ्चालन कार्यपालिका सदस्य डिलबहादुर परियारले गरेका थिए । तालिम ३० गते सम्पन्न हुनेछ ।