‘आमा’ र ‘सेन्टी भाइरस’ अझै दुई हप्ता चल्ने

1

काठमाडौं- फागुन ९  बाट दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा छन्। दुवै चलचित्रले राम्रो व्यापार गरिरहेका छन्।

व्यापारिक दृष्टिकोणले ‘आमा’ भन्दा ‘सेन्टी भाइरस’ राम्रो देखिएको छ। चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ सेन्टी भाइरसको व्यापार राम्रो देखिएको हो।

दुवै चलचित्र अबको दुई हप्तासम्म ढुक्कसँग हलमा चल्नेछन्। दुई साताका लागि कुनै पनि प्रतिक्षित नेपाली चलचित्र प्रतिस्पर्धामा छैनन्। १६ फागुनमा चलचित्र ‘धुलो’ प्रदर्शनमा आउँदैछ। तर, यो चलचित्रले मल्टिप्लेक्स हलमा कुनै पनि शो पाएको छैन।

त्यस्तै सिंगल थिएटरमा पनि ‘धुलो’ धेरै शो पाएको छैन, जसले गर्दा यो साता पनि ‘आमा’ र ‘सेन्टी भाइरस’ नै प्रदर्शनमा आउनेछन्।

२३ फागुनमा पनि कुनै नयाँ नेपाली चलचित्र हलमा लाग्ने छैनन्। २३ फागुनमा चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज हुने तय भएको थियो। तर, सोही मितिमा बलिउड चलचित्र ‘बाघी–३’ रिलिज हुने भएपछि ‘म यस्तो गीत गाउँछु-२’ पछाडि सरेको थियो।

उक्त मितिमा ‘बाघी–३’ प्रदर्शनमा आउँदैछ, जसले गर्दा पनि नेपाली चलचित्र हेर्ने दर्शकका लागि ‘आमा’ र ‘सेन्टी भाइरस’ नै हलमा हुनेछन्। दुवै चलचित्रको लागि दुई सातासम्म मैदान खुल्ला हुनेछ। यो बीचमा बलिउड तथा हलिउड चलचित्र भने प्रदर्शनमा आउनेछन्।

‘बाघी–३’ को ट्रेलरले नै तहल्का मच्चाएको छ। उक्त चलचित्रलाई विश्वभर नै दर्शकले निकै प्रतीक्षामा राखेका छन्। नेपालमा पनि यसको ट्रेलर निकै रुचाइएको थियो, जसले गर्दा चलचित्रले पनि एकदम राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

हलमा ‘बाघी–३’ दर्शक आउँदा हलमा क्षमताभन्दा बढी दर्शक आउन सक्छन्। त्यो फ्लो भने उता आमा र सेन्टी भाइरसतिर सर्न सक्ने हल वितरकहरूको अनुमान छ।