कान्छा उम्मेदवार शुभाखर पोखरेल

1

मंसिर १४ गते हुने उप–निर्वाचनमा कोहलपुर नगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदका लागि समाजवादी पार्टीबाट उम्मेदवार बनेका शुभाखर पोखरेल विद्यार्थी युवा नेता हुन् । उनी अहिले २९ वर्षका भए । उनको विद्यार्थी राजनीतिको प्रभावले गर्दा पछिल्लो समय निकै रुचाइएका छन् ।

वडामा नेकपाका रामशरण थारु, नेपाली कांग्रेसका श्रीकृष्ण थारु, राप्रपाका श्रीधर सुवेदी, नेपाल मजदुरी किसान पार्टीका दीपा लक्ष्मि हमालले उम्मेदवारी दिएका छन् । तत्कालिन अध्यक्ष रामशोहन थारुको वि.सं. २०७५ मंसिर ९ गते असामयिक निधन भएपछि रिक्त पदका लागि उप–निर्वाचन हुन लागेको हो ।

समाजवादी पार्टीबाट उम्मेवार बनेका सबैभन्दा कान्छा उम्मेदवार शुभाखर पोखरेलले आफ्नो पक्षमा चुनावी माहौल सिर्जना हुँदै गएको एकदमै उत्साहित भएको बताएका छन् ।

को हुन् शुभाखर पोखरेल !

परिचय
वुवा डिल्लीराम पोखरेल र आमा भद्रिका पोखरेलको जेष्ठ सन्तानका रुपमा वि.सं. २०४७ चैत्र २९ गते कंचनपुर जिल्लाको तत्कालिन त्रिभुवन बस्ती र हालको पुर्नवास नगरपालिकामा उनको जन्म भएको हो । उनीपछि एक भाइ र एक बहिनी रहेका छन् । उनको परिवार वि.सं. २०५२ सालमा कंचनपुरदेखि बसाइसराइ गरि बाँकेको कोहलपुरमा स्थायी रुपमा बसोबास गर्दै आएको हो ।

शिक्षा
वि.सं. २०५२ सालमा कंचनपुरदेखि बसाइसराइ गरेर उनको परिवार कोहलपुर आएपछि उनी ज्ञानज्योति प्रा.वि. बगियामा कक्षा २ देखि ५ कक्षासम्म अध्ययन गरे । त्यसपछि ६ कक्षादेखि १० कक्षासम्म त्रिभुवन मा.वि. कोहलपुरमा अध्ययनपछि वि.सं. २०६४ को फलामे ढोका मानिएको एस.एल.सी. परीक्षामा उनी प्रथम श्रेणीमा उत्र्तिण भए । उच्च शिक्षाका लागि उनले नेपालगंजमा रहेको जय बागेश्वरी कलेजबाट विज्ञान संकायमा राम्रो नजिता ल्याएर उत्र्तिण गरेका छन् । त्यसपछि उनी स्नातक तह व्यवस्थापन संकाय, बागेश्वरी बहुमुखि पब्लिक क्याम्पस, कोहलपुरबाट गरेका छन् ।

विद्यार्थी राजनीति
शुभाखर पोखरेल कलिलै उमेरदेखि विभिन्न काममा सहभागी हुँदै यहाँसम्म आएका हुन् । त्रिभुवन मा.वि.को कक्षा ७ मा अध्ययन गर्दै गर्दा त्रिभुवन बाल क्लबको स्थापक अध्यक्ष भएर काम गरेका थिए । कक्षा ९ मा जुनियर रेडक्रस सर्कलको सभापति तथा कक्षा ११ र १२ मा सक्रिय रुपमा विद्यार्थी राजनीतिमा लागेका थिए । वि.सं. २०६९ देखि वि.सं. २०७१ सम्म बागेश्वरी बहुमुखि पब्लिक क्याम्पस कोहलपुरको अखिल क्रान्तिकारीको इकाई अध्यक्ष, वि.सं. २०७१ सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्यमा निर्वाचित, वि.सं. २०७२ सालदेखि वि.सं. २०७६ सम्म नयाँ शक्ति पार्टिमा जिल्ला सदस्य, वि.सं. २०७६ नयाँ शक्ति पार्र्टी र संघिय समाजवादी फोरम पार्टी बिच भएको एकतापछि समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघको प्रदेश नं.५ को सचिवका रुपमा काम गर्दै आएका छन् ।

विभिन्न अभियान तथा कार्यक्रमहरुमा सक्रिय
विद्यार्थी जीवनकालमा बाल क्लबको अध्यक्ष हुँदा बालविवाह न्यूनिकरणका लागि विभिन्न अभियान संचालन, विद्यार्थीहरुको बौद्धिक क्षमता विकासका लागि विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरुको सुरुवात, ‘संघर्ष’ नामक भित्ते पत्रिका प्रकाशन गरि जनचेतनामूलक कार्यक्रमहरु संचालन, ‘साथी शिक्षक कार्यक्रम’को सुरुवात गरि शिक्षा सम्बन्धि क्रियाकला गरेर सबैलाई जनचेतना जगाउने काममा सक्रिय, एच.आइ.भि÷एड्स, प्रजनन स्वास्थ्य तथा लागु पदार्थ दूव्र्यसन विरुद्धका विभिन्न कार्यक्रमहरु संचालन गरि युवाहरुलाई कुलतमा लाग्नबाट रोक्न थुप्रै कार्यक्रमहरु अभियानका रुपमा संचालन, रेडक्रस सर्कल मार्फत बाढि, आगलागि पीडितहरुका लागि राहत संकलन अभियान संचालन, रेडक्रसको एम्बुलेन्स सेवा विस्तारका लागि एम्बुलेन्स ल्याउन र सबैलाई त्यसको महत्वबारे जानकारी दिन प्रमुख अभियानकर्मीका रुपमा कामको सुरु लगायतका थुप्रै कार्यक्रमहरुको उनले सुरुवात गरि अभियानका रुपमा अगाडि बढाउँदै आएका थिए । अहिले पनि विभिन्न सामाजिक काममा उनी सक्रिय रुपमा लागि परेका छन् ।

क्याम्पसमा हुँदा अनावश्यक र मनपरि शुल्कवृद्धि रोक्न प्रशासन र विद्यार्थीहरुसँग पटक–पटक छलफल र प्रशासनका विरुद्ध चरणवद्ध आन्दोलनको घोषणा, छात्रवृत्ति वितरणमा हुने अनियमितता, पार्र्टीबाद, आफन्तबाद रोक्न चरणबद्ध आन्दोलन र पहल गरि समस्या समाधान गर्न अग्रसर, चर्को पेट्रोलियम पदार्थको मूल्यवृद्धि रोक्न सडक आन्दोलन, विभिन्न सामाजिक कार्यमा निरन्तर लाग्दै आएका छन् ।