अमेरिकाका टिपिएस बाहक नेपालीलाई खुसीको खबर, टिपिएसको म्याद २०२१ को जनवरी सम्म थप

15

टेक्सास (अमेरिका)- अमेरिकामा रहेका टिपिएस बाहक नेपालीलाई खुसीको खबर छ । अमेरिकी सरकारले नेपालसहित ६ वटा मुलुकको टीपीएसको म्याद थपेको हो। आगामी मार्च २४, २०२० सम्म रहेको नेपालको टीपीएसको म्याद अब थपिएर सन् २०२१ को जनवरी ४ सम्म पुगेको छ ।एल साल्भाडोर, हैटी, होण्डुरस, नेपाल, निकारागुवा र सुडानका टीपीएसवाहकको वर्क परमिटको म्याद अब एकैदिन अर्थात् सन् २०२१ को जनवरी ४ सम्म कायम हुने भएको छ ।

अमेरिकी सरकारले टीपीएस अन्यमा रोक लगाउन क्यालिफोर्निया र न्युयोर्कका अदालतमा परेका मुद्दाहरुको आदेशलाई पालना गर्ने क्रममा नेपाली टीपीएस वाहकको वर्क परमिटसहित टीपीएससँग सम्बन्धित फर्म आई ७९७, आई ९४ र अन्य सबै कागजातको म्याद थपिएको छ । अमेरिकाको सर्किट कोर्टमा समेत यसबारे पेन्डिङ मुद्दा रहेकाले यदि अदालतले टीपीएस अन्त्य गर्ने फैसला गरेमा अर्को स्टाटसमा जानका लागि सन् २०२१ को जनवरी ४ सम्मको म्याद रहनेछ ।

टीपीएसवाहकका कागजातको म्याद जनवरी ४, २०२१ सम्म अमेरिकी सरकारले स्वत थप्ने भएकाले टीपीएसवाहकले कुनै पनि आवेदन दिनुनपर्ने जनाइएको छ ।

टीपीएसका कागजातको म्याद थपिएको जाँच गर्न टीपीएसवाहक , रोजगारदाता वा अन्य एजेन्सीहरुले युएससीआईएसका ई भेरिफाई, रोजगार योग्यता प्रमाणिकरण वा सेभ जस्ता अनलाइन टुलको समेत प्रयोग गर्नसक्नेछन् । वर्क परमिटका लागि आवेदन दिएका तर वर्क परमिट प्राप्त नगरिसकेकाहरुले भने नयाँ म्याद सहितको वर्क परमिट प्राप्त गर्नेछन् ।

हाल टीपीएसमा रहेका व्यक्तिले म्याद थपिएको सुविधा लिनका लागि कुनै शुल्क तिर्नु नपर्ने जनाइएको छ । विगतमा कुनै पनि रि रजिस्ट्रेशनको बेलामा राम्रोसँग रिरजिस्ट्रेशन नगरेका वा छुटेकाहरुले अझै पनि रिरजिस्ट्रेशन गर्नसक्ने युएससीआईएसले जनाएको छ । तर त्यसका लागि पहिलो पटक भने टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ । रिरजिस्ट्रेशन गर्नका लागि छुट्नुको राम्रो कारण पनि पेश गर्नुपर्ने जनाइएको छ ।

यदि भविश्यमा अमेरिकी अदालतबाट टीपीएसको पक्षमा कुनै आदेश वा फैसला आएमा अमेरिकी सरकारले पुन दर्ताका लागि सुचना प्रकाशित गर्न वा त्यसको प्रकृयाबारे जानकारी गराउनसक्ने जनाइएको छ । अमेरिकी सरकारले टीपीएस अन्त्य नगर्नका लागि दिइएका आदेशहरुबिरुद्ध सर्किट कोर्टमा अपिल गरिसकेकाले टीपीएसको विपक्षमा फैसला आएमा टीपीएसवाहकलाई देश छाड्न वा स्टाटस एडजस्ट गर्नका लागि सरकारले होण्डुरस, नेपाल, निकारागुवा र सुडानलाई कम्तीमा १२० दिनको म्याद दिनेछ ।

https://www.uscis.gov/news/alerts/dhs-extends-tps-documentation-six-countries

स्रोत : खसोखास