नौ बुँदे प्रतिबद्धता सहित डा. पौडेलद्धारा आइसीसी महासचिवमा उम्मेद्वारी घोषणा

19
mde

काठमाडौं – गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)को आसन्न नवौं सम्मेलन(२०१९/०२१) का लागि डा. केशव पौडेलले औपचारीक रुपमा महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

 काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नौं बुँदे प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन । दुई कार्याकाल एनआरएन अमेरिकाको अध्यक्ष भइसकेका डा. पौडेलले सुदृढ र पारदर्शी एनआरएन बनाइछाड्ने प्रतिबद्धता पनि जनाए ।

उनले भने,‘हाल कार्यालयमा अनावश्यक खर्च बढीरहेको, संस्थामा मनपरीतन्त्र बढेको, सचिबालय अस्तब्यस्त भएको छ ,यी सबैलाई ब्यवस्थित गर्न महासचिबका लागि तयार भएर आएको छु ।’ महासचिवमा निर्वाचित भएपछि एनसीसी र आइसीसीका बिचमा बेला बेदा देखापर्ने समस्या समाधानका लागी पनि आफुले ठोस कार्य गर्ने उनको प्रतिबद्धता छ ।

घोषणा कार्यक्रममा उनले विदेशमा हुर्किएको पुस्तालाई मातृभूमीप्रति जिम्मेवार बनाउँदै संस्थामा नयाँ पुस्तालाई आकर्षित गर्ने योजनाहरु रहेको सुनाए । उनले एनआरएनएको अभियानमै ब्यापक सुधार आवश्यक रहेको बताए ।

संस्थागत विकासको परिपाटीलाई अभिबृद्धि गर्दै एनआरएनएमा नियमित संचार र अन्तरक्रिया गराउने छुट्टै माध्यमको विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए । उनले भने, ‘संस्थाभित्रै संभावनाको खोजी र अवसरहरुको सिर्जना गराउनु आवश्यक छ ।’

‘सचिबालय व्यवस्थापन र सुदृढिकरण, संस्थागत विकास र सदस्यता अभिबृद्धि, संस्थामा सरल पहुँच र समान वितरण, गतिशिल नेतृत्व तथा दिगो निती मेरो प्राथमिकतामा पर्छ,’ उनले भने, सबैको एनआरएनए, संधैको नेपाली र समान नागरिकताका सवालमा प्रशस्त कामहरु गर्ने प्रण लिएको छु ।’

आफू अमेरिकामा चिकित्सा पेशामा रहेर सेवामुलक काम गरिरहेको बताउँदै उनले एनआरएनएमार्फत परोपकारी कामलाई अझै बढी प्राथमिकता दिनुपर्ने पनि बताए । उनले भने, ‘स्वार्थभन्दा माथि उठेर सेवा भावले काम गरे मात्र संस्था सबैको प्रिय र जिम्मेवार हुनेछ ।’

तनहुँको व्यास नगरपालिका ९ जन्मिएका डा पौडेल अमेरिकाको न्युमेक्सिकोस्थित लबलेस मेडिकल सेन्टरको बरिष्ठ चिकित्सक एवं मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन् । एनआरएनए आइसिसिमा महासचिव बन्न डा पौडेल अहिलेसम्म विभिन्न मुलुकहरुमा पुगेर त्यहाँका एनआरएनए अभियन्ताहरुलाई भेटेका थिए ।

एनआरएनए अमेरिकामा डा पौडेल नेतृत्वको कार्यकालमा नेपालमा भूकम्प गएको बेला आफै चिकित्सक भएर चिकित्सक टोली लिएर नेपालमा उपाचार सहयोग गर्नु साथै आर्थिक सहयोग, अमेरिकामा पहिलो विज्ञ सम्मेलन, प्रवासमा नेपाली भाषा संस्कृति जगेर्ना गर्नेका लागी विभिन्न राज्यहरुमा नेपाली पाठशाला खोल्ने कार्य, नेपाली कम्युनिटी सेन्टरको लागि आर्थिक सहयोग, अमेरिकाको मूलधारको राजनीतिमा जाने तर्फ प्रोत्सहण जस्ता महत्वपुर्ण कार्यक्रमहरु गरेका थिए ।

उम्मेद्वारी घोषणा कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष शुनिल साह, डा. यादब पण्डित लगायतले डा. पौडेललाई बिजयको शुभकामना दिएका थिए ।