अमेरिका : परदेशमा रुँदै बिताएका दशैंका ती दिन !

13

महेश्वर पन्त

अमेरिका – हुन त आज पनि नेपालका कतिपय गरिबका घरहरुमा मूलीले आˆनो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन् । केटाकेटीहरु आफूले भनेजस्तो कुरा पाइनँ भनेर सबैले देख्ने गरी रुन्छन् । तर, बुढापाकाहरु लुकेर रुन्छन् ।

गरीवी र अभावको त्यो पीडा मनन् मात्र गर्न पनि पीडादायी हुन्छ । हेर्न लायकको हुँदैन ।

पहाडमा मैले देखेको छु, दशैंको दिनमा मीठो त के, खस्रो चामलको भातसमेत खुवाउन सक्ने क्षमता नभएका कति नेपाली परिवार थिए । अझै पनि यो अवस्थामा धेरै ठूलो परिवर्तन भएको छैन ।

दशैं मान्न देश, काल र परिस्थितिले अनुमति नदिएको त पक्कै हैन । कामले वा जागिरले रोकेको त हैन होला । अभावले रुनुपर्ने कुरो एकातिर छँदैछ । हुन त अभाव बर्ष दिन बाह्र महिना नै छ, ती गरिब नेपालीहरुलाई । तर, आँशु किन दशैंमा नै ? हो यही प्रश्नले मलाई पिरोल्छ ।

मेरै कुरा गर्नु पर्दा मलाई खान लगाउने अभाव भोग्नुपरेन । अमेरिका छिरेपछि झन् यस्ता समस्या हुने कुरा भएन । तर, म नेपालमा हुँदा दशैंमा जति रोएँ, त्योभन्दा बढी परदेशमा रोएँ । मान्छे अभावले पिल्सेर छिटो रुन्छ कि भावना दुःखेर ?

यिनै कुरा मेरो मनमा आपसमा बटारिन्छन् । गुम्सिन्छन् । तर, निकास पाउँदैनन् ।

सन् २००० तिर मेरो विदेश यात्रा सुरु भएको हो । सन् २००२ बाट अमेरिकामा स्थायी बसोबास गरेपछि मेरो छातिको देब्रे पाटो दुख्न थाल्यो । एक प्रकारको बिमारीजस्तै भएँ । डाक्टरहरुले पत्ता लगाउन नसक्ने र नसर्नेखालको बिमारी । मुटुको प्रायः हरेक ढुकढुकीमा एउटा चिज नपुगेको जस्तो भयो । थाहा भएर पनि त्यो चिज पूरा गर्न सकिएन । झन चाडपर्वमा त त्यसको मात्रा बढेर हृवात्तै माथि आउने गर्छ ।

सन् २००२ जूनको एउटा गर्मी दिनको बिहान म ढोकामा उभिएको छु । बा हातमा दहीको प्लेट लिएर उभिनुभएको छ । हामी दुबैजना आमाको प्रतिक्षामा छौँ । बा मलिनो अनुहारमा देखिनुहुन्छ । उहाँको मुहारबिन्दुमा मैले त्यो पुरानो खानदानी एउटा ढुक्कको तेजस्वी चमक हेर्न खोजेँ, तर कतै थिएन । केही दिनदेखि नै यस्तै थियो । आमाको वर्णन म गर्न सक्दिनँ ।

टीकाको थाली र फूल लिएर आमा आउनुभयो । मैले पुलुक्क आमाको मुहारमा हेर्ने शक्ति जुटाएँ । तर, धेरैबेर टिक्न सकिनँ । ती रुँदारुँदै राता भएका नयनमा भेल बगि नै रहेको थियो । मैले मेरा लाचार नयन तल जमीनमा जोतेँ । आमाले बिदाईका अछेता लगाइदिनुभयो । कानमा फूल सिउरिदिँदै मेरो कपाल छुनुभयो । मेरा पनि आँखाका तलाउहरु भरिए र केही बाहिर पनि ओर्ले । घाँटी सफा गर्दै आमाले भन्नुभयो ‘दशैंमा त आउलास् नि ?’

मैले बातिर हेरेँ। बा पनि आˆना आँखाको तलाउमा पानी रोक्न असफल प्रयास गर्दै हुनुहुन्थ्यो ।

मैले ढोकामा उभिएकी श्रीमतीलाई पुलुक्क हेरेँ । स्कुल गएका छोराछोरीलाई झुलुक्क सम्झेँ । कसैसँग बोल्न सकिनँ । यति नै बेला भाइले ट्याक्सी लिएर आयो ।

यसरी तय भएको थियो मेरो रोजाईको परदेशी जीवन, अमेरिका ।

मुटुको हरेक धड्कनले नेपाल भनि रहे पनि त्यसलाई पन्छाएर आफ्नो सपना साकार पार्न लाग्नैपर्‍यो ।

परदेशमा यस्तै हो ! यही एउटा वाक्यले दिन काट्नुपर्ने थियो । काट्नु परिहेको छ ।

‘तर चाडबाड !’

मैले जानेको सन् २००० देखिको परदेशी दशैं धेरै बर्षसम्म परदेशी नै रहृयो । नेपालमा आयो, हामीलाई आएन । हामीलाई याद मात्रै ल्यायो । बल्ल-बल्ल फोनमा सम्म परिवारसँग कुरा गर्न पाए भाग्य Û
यसको वास्तविकता मैले पनि सन् २००२ बुझेँ ।

मेरो प्रमुख चाहना थियो कि परदेशमा पनि दशैं मान्ने । दशैं लाग्यो । कोही बोलेनन् । दशैंको नामै लिएनन् कसैले । मभन्दा अघि यो परदेशमा छिरेकाले अरु नबोली म जान्ने हुने कुरो पनि आएन । घटस्थापना आयो । कसैले जमराको कुरा त के, मुखमा दशैं आयो भनेजस्तो एउटा स्यानो चमक मुहारमा पर्न पनि दिएनन् । खल्लो लाग्यो ।

आखिर मैले नै मुख फोरेँ ‘हैन दशैंको कुनै तयारी हुँदैन यता ?’ प्रायः सबै झस्के । तर, सबैजसो आँखा रसिला थिए । म माथि हाँसे वा दशैंमाथि हाँसे, त्यो मैले बुझिनँ । तर, निकै खल्लो लाग्यो ।

अमेरिकामा टीका लगाउन नसकिने कुरा मलाई प्रष्ट्याए साथीहरुले । मैले लाचार भएर मानें । किनकि म त अमेरिकामा सबैभन्दा नयाँ र केही नजानेको थिएँ । कति साथीहरु त परिवार बालबच्चा सहितका पनि थिए । उनीहरुलाई त दशैंको महत्व लागेन भने म एक्लोलाई के ?

त्यतिबेला अमेरिकामा दशैं मान्न चाहे पनि हुने प्राविधिक कठिनाई यसरी किटान गरियो-

धेरै नेपाली नभएको ।

भएका प्रायः नेपाली एउटै कम्पनी वा रेस्टुरेन्टमा काम गर्ने हुनाले बिदा एकैचोटि माग्न नमिल्ने ।

एक्लै कसरी दशैं मनाउने ?

कामको थकान ।

मुख्य कुरा, टीकाका सामान कसरी जम्मा पार्ने ? जमरा पनि चाहियो, कसरी जमराको काम गर्ने ?

यस्तै ‘हरुवा गोरुका छेरुवा दाउ’ भने जस्ता कारण देखाएर हामीले दशैंलाई पियौँ ।

दशैंले आफ्नो आउने काम हो आयो । तर, रंग ल्याएन । पूर्णेका जून पनि अँधेरा भए ।

दशैंको दिन दिनभरि काम गरेँ । झन्डै दश घन्टा । दिनभर काममा जाँगर लागेन । खल्लो लागिरहृयो । आखिर अभाव त केहीको पनि थिएन । तर, यो के होला ? सोच्न बाध्य भएँ । दशैंसँग जुन हाम्रो भावना गाँसिएको थियो, त्यसमा ठेस लागेको महसुस भयो होला सायद । रुन मन लाग्यो । रुने ठाऊँ पाइनँ । कतिपटक बाथरुम गएँ । आफूलाई हेरेँ । आफूलाई चिन्न मन लागेन । आमाको रुघ्ण स्वर सम्झेँ ‘दशैंमा त आउलास् नि ?’

म, म हैन । जो यो छ, त्यो म पटक्कै हैन । जो म थिएँ, त्यो पनि यो हैन । अनि दशैं ? मैले सोचेँ ‘यहाँ त दशैं हुदैन ।’

तर, मनले मानेन । डेरामा आएँ । कोहि पनि आएका रहेनछन । पल्लो घरकी भाउजू बाल्कोनीमा देखिनुभयो । दाइ पनि आएका रहेछन् । दुबैको सल्लाहले होला, त्यति नचिनेका भए पनि बोलाएँ । म खुसी भएँ । झन्डै दौडेर पुगेँ । मनमा दशैंका गुलिया सेलरोटी र्झर गरे ।

‘दशैं मान्न पाइने भयो ।’ मनले यसै भन्यो ।

तर, त्यहाँ मैले भनेजस्तो दशैं थिएन । अझ भन्छु ‘दशै भन्नेखालको केही थिएन । ‘प्लेटमा भेडाको मासु र ‘हाइनिकन’ भन्ने बियरका केही भरि बोतलहरु थिए ।

नचिनेका, सायदै दुईपटक देखेका दाइले भने ‘भाइ यसो आज बिदा पनि परेको, दशैं पनि परेछ । दशैं मानौँ भनेर ।’ भन्दै उनी फिस्स नमीठो पाराले लजालु हाँसो हाँसे । सायद आˆनो दशैंको यति कमजोर तयारीका कारणले लाज पनि माने कि जस्तो पनि लाग्यो ।

म घर फर्केँ । तर, दशैंको नियास्रो मेटिएन । नेपाल फोन लगाउने प्रयासमा तीन/चार घण्टा खर्चेँ । यस्तै गाह्रो हुँदोरहेछ दशैमा फोन लाग्न । धेरैले एकैचोटि फोन लगाएर होला । सबैले दशैंको नियास्रो मेट्न नेपालमा फोन गर्ने रहेछन्, सायद ।

मेरो फोन लाग्यो । उताको हल्ला, खुसीका आवाजहरु सुनेँ । सबै खुशीजस्ता सुनिन्थे । आमाको काखमा खेलेका बच्चा जस्ता । मलीन र दुखी थिइन् त मेरी आमा ।

फेरि उही रोकिएको आवाजले सोधिन् ‘टीका लाइस् ? दशैंको दिन मीठो, चोखो के खाइस्ा् ?’

म रोकिएँ । केही बोल्न सकिनँ । फोन काटिएको नक्कली नाटक गरेँ र फोन काटिदिएँ । आँशु र त्यो पिरिएर निक्लने आवाज रोक्न सकिनँ । मज्जाले रोएँ ।

सायद म जान्ने भएपछि यति जोडले रोएको छैन ।

आज त्यो दिन सम्झिन्छु । कति छिटो यत्रो विकास भएछ अमेरिकामा ! आज झन्डै १५/२० बर्षपछि फर्केर हेरेँ । अमेरिका आज नेपाली गाऊँजस्तो लाग्छ ।

त्यही घटनाकै अर्को वर्षबाट सामुहिक दशैं कार्यक्रम मेरै अगुआइमा ५०/६० जना साथीहरु मिलेर खोलेको संस्थाले मनाउन थालेको हो । र सामुहिक दशैं मनाउन थालिएकाले मेरो रोदन फेरि आउन पाएन ।
केही वर्षपछि जमराको पनि सुरुवात भयो । अनि त नेपालको जिल्ला जस्तै लाग्न थाल्यो, परदेश ।

हुन त ‘परदेश कहिलै पनि घरदेश जस्तो हुँदैन’ तैपनि आमा-बा सासू-ससुरासँगै बसेर दशैं मनाउन पाउँदा यो परदेशीलाई घरदेशमै छु जस्तो महसुस हुन्छ ।

कुनै बर्ष बा-आमा, सासू-ससुरा दशैंमा आउन नभ्याउँदा फेसबुक भिडियो म्यासेन्जरबाट टीका लगाउने र आशिर्वाद लिने गर्दा पनि आनन्द आउँछ ।

हुन त परदेश कहिल्यै पनि घरदेशजस्तो हुदैन । सँगै बसेर लगाएको टीकाजस्तो भिडियो हेरेर लगाउँदा हुदैन। तैपनि आमा-बा, सासूससुरा सँगै बसेर वा हेरेर दशैं मनाउन पाउँदा यो परदेशीलाई घरदेशमै छु जस्तो महसुस हुन्छ ।

तर, पनि परदेशमा दशैं आउँदा जन्मघरको याद अलि बढी नै आउँछ । अनि यो गीतकार/सङगीतकार मन यसरी गुन्गुनाउँछ-

एसपालि त परदेशमा देशको धेरै याद आयो
हिमचुलीको चिसो हावा तराईले स्वाद ल्यायो

ढिकी जाँतो गर्दै आमा केटाकेटी हेर्दै होलिन्
मेलापात घरकी उनी मेरै याद गर्दै होलिन्
खोला पारि रमितेमा कान्छाकान्छी भेट्छन् होला,
पानी भर्दै पधेर्नीले मेरै कुरा काटछन् होला

आज फेरि बाडुल्कीमा घर गाउँको याद आयो
हिमचुलीको चिसो हावा तराईले स्वाद ल्यायो

छिल्लिएर ठिटाठिटी रोटेपिङमा मस्त होलान्
झुलिरा’का धानका बाला, मधेस पहाड ब्यस्त होलान्
चन्ऽमाले मुस्कुराउँदै गाउँमा प्रकाश छर्दै होलान्
लजाउँदै मेरी माया आउने बाटो हेर्दै होलिन्

चाडपर्व देश जाने बाचाको त्यो म्याद आयो
हिमचुलीको चिसो हावा तराईले स्वाद ल्यायो