राम्रो र हाम्रो एनआरएनए बनाउन बोर्ड अफ डाइरेक्टरमा मेरो उम्मेद्वारी : देबराज न्यौपाने

132

अष्टिन (टेक्सास)– गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएका अष्टिनवासी देबराज न्यौपानेले राम्रो र हाम्रो एनआरएनए बनाउन आफ्नो उम्मेद्वारी रहेको बताएका छन् ।

ग्रेटर अष्टिन नेपाली सोसाइटीका पुर्ब अध्यक्ष न्यौपानेले कुरा भन्दा काम गरेर देखाउन संगै संस्थागत बिकास र सामुहिक हितका लागी आफ्नो उम्मेद्वारी रहेको स्पष्ट पारे । १४ बर्ष अघि अमेरिका आएका न्यौपानेले सामाजिक संजाल मार्फत आफ्नो उम्मेद्वारी बारे समेत बोलेका छन् ।

न्यौपानेले सामाजिक संजालमार्फत आफ्नो उम्मेद्वारीको बारेमा राखेको कुरा :

आदरणीय अमेरिकाबासी गैरआवासीय नेपाली दाजु भाई दिदी बहिनीहरु, हार्दिक नमस्कार ।

मैले यही मे १८ र १९ मा हुन गैरहेको एनआरएनए एनसिसि युएसएको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा आफ्नो उम्मेदवारी दर्ता गराएको सहर्ष जानकारी गराउदै केही आफ्ना भनाईहरु प्रस्तुत गर्न चाहन्छु ।

मेरो नाम देवराज न्यौपाने हो, म बिगत १४ बर्ष देखि अमेरिकामा बसोबास गर्दै आएकोछु र हाल टेक्सस राज्यको राजधानी अस्टिन नजिक फ्लुगरभिलमा बुबा आमा श्रीमती र २ छोराछोरीका साथ बस्दै आएकोछु । सुरुको १ बर्ष मैंले कनेटिकटमा अमेरिकाको स्ट्रगल गरेको थिएँ । स्यानैं उमेर देखि आफु र आफ्नो परिवार भन्दा माथि उठेर देश र समाजको बारेमा सोच्ने र सामाजिक गतिविधिहरुमा सामेल हुने मेरो रुची र स्वभावले गर्दा यस अमेरिकी भुमिमा पनि निरन्तर सामाजिक गतिविधीहरुमा सकृय रहेको छु । मिनभवन क्याम्पसको स्ववियु सभापति र स्थानीय देखि राष्ट्रिय स्तरका संगठनहरुमा नेतृत्वदायी स्वदेश र प्रबाशका विभिन्न जिम्मेवारीहरुको अनुभवहरुलाई संगाल्दै एनआरएनमा रहेका हालका समस्या र चुनौतीहरुलाई समाधान गर्न आफ्नो योगदान पुर्याउने अठोट गरेकोछु ।

म अहिले पनि घर बपरिवारबाट जवर्जस्ती समय उवारेर स्थानीय समाजको सेवामा समर्पित गर्दै आएकोछु । म रहेको यस ठाउँमा एक साझा र प्रभावकारी स्थानीय संस्थाको अभाव खड्कीएकोले हामीले २०१३ मा ग्रेटर अस्टिन नेपाली सोसाईटी (ग्यान्स) को जन्म दियौं र यसैलाई हुर्काउने काममा हामी लागिरहेकै छौं र लागिरहनेछौं । किनकी स्थानीय संस्था नैं पहिलो प्राथमिकता हुनुपर्दछ । स्थानीय काम लथालिंग भएको जगबाट म कहिल्यै पनि सही एनआरएन नेता बन्न सक्दिन । छोटै समयमा हामीले एउटा स्थानीय संस्था कसरी चल्न पर्छ भन्ने नमुनाको रुपमा ग्यान्सलाई प्रस्तुत गर्न सफल भएकाछौं । बिधानसम्मत, एकिकृत, जनमुखी, बालबालिका, युवा र जेष्ठ नागरिक सबैलाई ध्यान पुर्याइएको छ ग्यान्सले । यसले आफ्नो मार्गचित्र कोरिसकेको छ तर स्वभावविक रुपमा धेरै कामहरु गर्न बाँकी नैं छ र यस्ता सबै गतिविधिहरुलाई सहजिकरण गर्न सामुदायिक केन्द्र (community Center) को आवश्यकता महशुस गरी आर्थिक संकलनको काम सुरु गरिएको छ । हामीले ग्यान्स मार्फत नेपाली भाषा पाठशाला संचालन, नृत्य कक्षा, योगा, स्वास्थ्य शिविर, रक्तदान, गोष्ठि र चाडवाडहरुमा प्रशस्त कार्यक्रमहरु गर्दै आएका छौं । हाम्रो मुल ध्येय भनेको अमेरिकी प्रवासको जीवनलाई कसरी सहज, सरल र समुन्नत बनाउने भन्ने नैं हो । ग्यान्सले परोपकारी कोष खडा गरी मर्दा पर्दा र अप्ठेरोमा पर्दा सरसहयोग पनि गर्दै आएको छ । एनआरएनको ध्येय पनि यही नैं हो तर एनआरएनको समन्वय स्थानीय संघसंस्थाहरुसित हुन नसक्दा विभिन्न समस्याहरु देखिएका छन् या भनौं एनआरएनबाट पाउनु पर्ने सरसहयोग स्थानीय संस्थाहरुले पाउन सकेका छैनन् । भखरै सम्पन्न निर्वाचनबाट म त्यसको अध्यक्षबाट निवर्तमान हुँदै गर्दा मैंले एनआरएनमा नेतृत्वको लागि आफु तयार रहेको घोषणा गरेको थिएँ । राम्रो र हाम्रो एनआरएन आजको आवश्यकता हो । यो निर्विकल्प हामी सबैको अत्यावश्यक संस्था हो । मेरो उम्मेदवारी नेपाली समाजको एकता र सम्बृद्धिका लागि हो र एनआरएन मार्फत त्यसलाई सहजिकरण गर्नलाई हो । एनआरएनमा केही थोरै उपलब्धीमुलक कामहरुका बावजुद धेरै समस्या र असंगतिहरु रहेका छन् । मेरो उम्मेदवारी यसैको समाधानमा सघाउनका लागि हो । यसलाई म निम्नानुसार बुदागत रुपमा उल्लेख गर्न चाहन्छु ।

(१) विश्वशनियता र एकता
एउटा विश्वासिलो वातावरण नभईकन हामी केही पनि गर्न सक्दैनौं । भनिएका तोकिएका कुराहरुलाई रामरी ब्यवहारमा उतार्ने, संस्थालाई विधानसम्मत र अनुसासित ढंगले चलाइनु अनिवार्य तत्व हो । गलत नजिर र परम्पराहरुलाई तोड्दै नयाँ मान्यता र सिस्टमहरुको विकाश गर्नैं पर्ने अनिवार्यता भैसकेको छ । आएका समस्याहरुलाई तदारुकताका साथ सुन्ने र सम्बोधन गर्नु पर्दछ र तिनैं कुराहरु या गुनासाहरु फेरी कदापी दोहरिन नदिन प्रतिवद्ध हुनैं पर्दछ । यही इमान्दारिता प्रदर्शन हुन नसक्दा नैं आज यस किसिमका असन्तुष्टीहरु छाताछुल्ल भएका छन् । मेरो पहिलो ध्यान एनआरएनलाई एउटा सिस्टममा चलेको, पारदर्शी, विश्वासिलो र एकतावद्ध संगठनको रुपमा विकाश गर्ने भन्ने नैं हुनेछ ।

(२) विधान संशोधनः 
आजका दिनमा एनआरएनको दायित्व, दायरा र भुमिकाको सही आकलन गरी त्यसलाई प्रतिनिधित्व गर्न सक्ने या आवश्यकता पुरा गर्ने विधानको कमी छ । यसर्थ काम सुरु गर्नु भन्दा पहिला नैं कामलाई निर्देशित गर्ने विधान उपर ब्यापक छलफल गरी विधानको पुनर्लेखन गर्नु आवश्यक छ ।

(३) सदस्यता र प्रत्यक्ष निर्वाचन
सदस्यता दर्ता गर्नेहरु मात्र हैन हामी सबै अमेरिकाबासी नेपालीहरु एनआरएन हौं र सबैको समान अधिकार छ । भोट हाल्नलाई मात्र निश्चित विधिबाट दर्ता गर्नु पर्ने हुन्छ । करिव ३ लाख नेपालीहरु रहेको अमेरिकामा ९ हजार मात्र मतदाता हुनु दुखद कुरा हो । यो बदनियत या कमजोरी जे भए पनि यसको अव अन्त्य हुनैं पर्छ र भोटिंग रजिस्ट्रेशन सरल विधिबाट गराई आम मानिसलाई यसमा सहभागी गराइनु पर्छ । आफैं पैसा खर्च गरी सदस्यता बनाउने र चुनावको ठेक्का पट्टा गर्ने परिपाटीको अव अन्त्य हुनैं पर्छ । बिद्यार्थी र भुटानी नेपालीहरुलाई पनि एनआरएन सदस्यको मान्यता दिनु पर्दछ । अनलाईन भोटिंग कै कारण यो धादलीपूर्ण तथा धेरै विवादास्पद भएकोले बिश्वासिलो बिधी अपनाउन सकिदैन भने बरु प्रत्यक्ष निर्वाचन प्रणाली लागु गर्नु पर्नेछ । बरु यो कसरी सम्भव होला भनी छलफल गर्न सकिन्छ र यसको धेरै खाले उपायहरु अवश्य हुनेछन् । यसमा कोही पनि भ्रममा नपरे हुन्छ । यसले अहिले देखिएका विवाद र समस्याहरु, राजनीतिक हस्तक्षप र गुटबन्दीहरु स्वत समाधान हुनेछन् । सही समाजसेवी नेतृत्व चुनिने स्थिती हुनेछ ।

(४) स्थानीय संस्था र एनआरएनमा नेतृत्वको विकाश
स्थानीय संघसंस्थाहरु जसले साँच्चीकै राम्रो गरिरहेका छन्, तीनलाई एनआरएनले निश्चित मापदण्डका आधारमा एनआरएन संगठन सदस्यता नैं प्रदान गर्न गरेर आफ्नैं ग्रासरुट अर्गनाइजेशनको रुपमा विकाश गर्नु पर्दछ र भोलि एनआरएनमा माथि जाने नेतृत्वको श्रोत यसैलाई बनाउनु पर्दछ । एनआरएनको काम माथि उल्लेख गरिएका ग्यान्स जस्ता संस्थाले गरिराखेका तिनैं कामहरु कदापी हैनन् बरु ति कामहरुमा स्थानीय संस्थालाई सघाउनु चैं एनआएनको काम हो । एनआरएनको नेतृत्वको श्रोत पनि यिनैं स्थानीय कार्यकर्ताहरु हुनुपर्छ जो काम, अनुभव, इमान्दारिता र जनविश्वासबाट खारिएर आएका हुन् । अहिले काम गर्ने दुख पाउने एउटा र प्रतिष्ठा पाउने अर्को अर्थात काम गर्ने कालु मकै खाने भालु जस्तो भैरहेको छ । एनआरएनको नेतृत्वमा राजनीतिक या गुटगत सिक्वीन्स मिलाएर फुत्त माथि जाने प्रकृयाले नैं ठूलो समस्या खडा गरेको छ । किनकी त्यस्ताले न स्थानीय संघसंस्थासित समन्वय गरेर काम गर्न नैं सक्छन् न गर्न नैं चाहन्छन् । न समाज र संठन बुझेका हुन्छन् न निश्वार्थ समाज सेवामा तिनको रुची नैं हुन्छ । एनआरएन नैं नबुझेकाहरुलाई नेतृत्वमा पठाएर राम्रो र हाम्रो एनआरएनको परिकल्पना पनि गर्न सकिदैन ।

(५) स्टेट च्याप्टरः
स्थानीय संघसंस्थाले नैं एनआरएनको स्थानीय निकायको रुपमा काम गर्ने भने पछि अव स्टेट च्याप्टरले केन्द्र र स्थानीयको विचमा समन्वय गर्ने र स्थानीयलाई आवश्यक सहयोग गर्ने हुनेछ । यसको लागि उम्मेदवारी दिने र चुनाव गर्नु पर्ने आवश्यकता नैं छैन । सबै राज्यमा स्थानीय संघ संस्थाका अध्यक्ष र प्रतिनिधि र त्यस राज्यमा रहेका एनआरएन नेतृत्वलाई स्वत पदेन राखी च्याप्टर निर्माण गर्नु पर्दछ । जसले स्थानीय संघसंस्थालाई एनआरएनसित नंग र मासुको सम्वन्धको रुपमा बिकाश गर्ने छ । अहिले कतिपय ठाउँमा देखिएको स्थानीय संस्थासितको अन्तरविरोधको समस्या हुने छैन र अहिले जस्तो च्याप्टरमा उठ्ने उम्मेदवारहरु खोज्दै हिड्दा पनि नपाईने र खाली हुने समस्या पनि हुने छैन । यो च्याप्टरको चुनाव पनि एनआरएनमा विकृति ल्याउने एउटा कारण हो ।

(६) संगठनात्मक संरचनामा सुधार या परिवर्तनः
अनावश्यक रुपमा ब्यवस्था गरिएका समितिहरु, जिम्मेवारीहरु र गतिविधिहरुको समग्र मुल्यांकन गरी खारेज गरि दिनु पर्दछ र त्यसको ठाउँमा आवश्यकताको आधारमा मात्र प्रभावकारी हुने गरी संगठनात्मक ब्यवस्थापन गर्नु पर्दछ । स्थानीय कार्यकर्ताहरुलाई कामको उचित मुल्यांकन गरी तहगत नेतृत्व विकाश गर्नु पर्दछ । उसको कामको आधारमा न्यायोचित मुल्यांकन र पुरस्कृत या प्रोत्साहित गर्ने, सही निर्णय र त्यसको कार्यान्वयनको मुल्यांकनको परिपाटी बसाल्नु पर्दछ । अनावश्यक भड्किला र खर्चिला प्रचारमूखी कामहरुको सट्टा परिणाममुखी कामहरुमा ध्यान दिनु पर्छ । यस प्रकृयाले अहिले भैरहेका गुटवन्दी र अराजकताका समस्याहरुलाई समाधान गरि दिनेछ । त्यस्तै स्थानीय रुपमा खुलेका धेरै संघ संस्थाहरुलाई तिनको औचित्य र आवश्यकताको आधारमा तिनलाई एकै ठाउँ मिलाइदिने काम पनि गर्नु पर्दछ ।

(७) प्रवाशी नेपाली समुदायका समस्याहरुको पहिचान गरी त्यसैलाई कामको केन्द्रविन्दु बनाउनु पर्दछ । परम्परागत र ठूल ठूला कुराहरु मात्र गर्न छाडिदिनु पर्दछ ।

अन्त्यमा,
मैंले माथि आफ्नैं अनुभवका आधारमा मेरा केही मान्यताहरुलाई प्रस्तुत गरें । मैंले अरु पनि उम्मेदवारहरुका राम्रा विचारहरु सुन्ने मौका पाएकोछु जसले मलाई भोलि सँगै मिलेर काम गर्न पाईने हो कि भन्ने आशाले उत्साहित पनि बनाएको छ । यहाँ विचारशील, अनुभवी र कर्मशील मानिसहरुको कमी छैन बरु त्यस्ता मानिसहरु नेतृत्वमा आउने र आए पनि काम गर्न सक्ने बातावरणको कमी हुन सक्छ । त्यसलाई पनि तोडेर हामी अघि बढ्ने छौं भन्ने मलाई विश्वास छ । अन्त्यमा म तपाई सम्पूर्ण मतदाताहरुमा विनम्रतापूर्वक हाम्रा भन्दा पनि राम्रा मान्छेहरु छानेर यसपटकको नेतृत्वमा पुर्याइदिनु भो भने आज तपाईले गरेका गुनासाहरु कहिल्यै पनि सुन्नु पर्ने छैन र मलाई पनि यसको लागि यदि योग्य ठान्नुहुन्छ भने तपाईको भोटको अपेक्षा सहित विदा चाहन्छु । जय एनआरएन !