अष्टिनमा बृहत बनभोज तथा खेलकुद कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

576

टेक्सास (अष्टिन)- ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)को आयोजनामा नेपाली नयां वर्ष २०७६ को अवसर पारेर अष्टिनमा बृहत बनभोज तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

हरेक नेपाली नयां वर्षको अवसर पारेर ग्यान्सले शुभकामना आदानप्रदान संगै खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको छ । यसपटक पनि ग्यान्सले सक्कर (फुटवल), भलिवल तथा ४०० मिटर दौडको आयोजना गरेको थियो । १ हजार डलर, प्रमाणपत्र र मेडल पुरस्कार रहेको खुल्ला भलिवल तर्फको उपाधी अष्टिन व्वाइज भलिबल टिमले हात पार्दा बांफिकोट गाउंपालिका ए भलिबल टिमले दोश्रो हुंदै ५०० डलर, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । टिमको कोचमा बिजय चन्द र टिम मेनेजरमा राम केसी थिए ।

लिगकम नकआउन चरणमा खेलाइएको प्रतियोगितामा १० वटा टिमले सहभागीता जनाएका थिए । प्रतियोगिताको बेष्ट प्लेयरको उपाधी बांफिकोट गाउंपालिका ए का खेलाडी जनक सिंह पाउंदा म्यान अफ द म्याचको उपाधी अष्टिन व्वाइजका बिनोद पौडेलले पाए ।

कार्यक्रमका अवसरमा ग्यान्सकै आयोजनामा केही दिन अघि सम्पन्न सक्कर प्रतियोगिताका बिजयी टिम तथा खेलाडीहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो । फुटवल सक्कर प्रतियोगितामा प्रथम हुने नर्थ अष्टिन फुटवल टिम तथा दोश्रो हुने नर्थ अष्टिन जागुअर टिमलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सक्करमा प्रथम हुनेले १ हजार डलर र दोश्रो हुनेले ५ सय डलर प्राप्त गरेका थिए ।

सक्कर प्रतियोगितामा बेष्ट प्लेयरको उपाधी शंकर तामाङले हात पारे । यस्तै कार्यक्रमका अवसरमा ४ सय मिटर खुल्ला दौड प्रतियोगिता भएको थियो जसमा मुस्कान यादव पहिलो, राजेन्द्र साह दोश्रो तथा आरोहन श्रेष्ठ तेस्रो भए । बिजयी टिम र खेलाडीहरुलाई एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष शुनिल साह तथा ग्यान्सका अध्यक्ष भोजराज भट्टलले पुरस्कार प्रदान गरेका थिए ।

अष्टिन र आसपासमा बसोवास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता रहेको कायृक्रममा एनआरएनए अमेरिकाका पदाधिकारी, जन सम्पर्क समितीका पदाधिकारी लगायतको सहभागीता रहेको थियो । कार्यक्रम भव्य रुपमा सम्पन्न भएपछि ग्यान्स अध्यक्ष भट्टले सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।